संक्षेप

वाणिज्यमन्त्री चन्दद्वारा शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । उपप्रधानमन्त्रीद्वय कमल थापा र भीम रावल, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द तथा नेता पशुपतिशमशेर जबरा, मन्त्रीगण, मुख्यसचिव, प्रधानसेनापतिलगायतको समारोहमा उपस्थिति थियो । नवनियुक्त मन्त्री चन्द राप्रपाका केन्द्रीय सदस्य तथा सांसद छन् । चन्द मन्त्री नियुक्त भएपछि वर्तमान मन्त्रिपरिषद्को सदस्य संख्या ४१ पुगेको छ । (सौस)

महान्यायाधीवक्तामा हरि फुयाल
काठमाडौं । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधीवक्तामा हरि फुयाल सिफारिस भएका छन् । प्रधानमन्त्री केपी ओलीले फुयाललाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेका हुन् । तत्कालीन महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले राजीनामा दिएपछि यो पद रिक्त थियो । नेपाल बार एसोसिएसनका अध्यक्ष रहँदा महान्यायाधिवक्ता बनेका कार्की अहिले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् । (सौस)

आगलागीमा परी एकको मृत्यु
रौतहट । झुनखुनुवा गाविस–६ बस्ने इसराफुल मियाको घरमा छतमा राखेको भुसबाट आइतबार आगलागी हुँदा घरमा सुतिरहेकी उनकी पत्नी ४५ वर्षीया जमिला खातुनको जलेर मृत्यु भएको छ । त्यस्तै गुल्मी ग्वादी–६ स्थित सामुदायिक वनमा शनिबार आगलागी हुँदा सोही ठाउँ बस्ने उमापति भण्डारीको घर र २ वटा गोठ तथा चुडामणि भण्डारीको घरसमेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । (सौस)

प्रतिक्रिया