बाह्र कम्पनीको सेयर सूचिकृत

stock exchange copyकाठमाडौं, ४ वैशाख । यो साता सेयर बजारमा १२ वटा कम्पनीको हकप्रद तथा बोनस सेयर सूचीकृत भएको छ । ५ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ लघुवित्त कम्पनी र ४ वटा फाइनान्सका ४ करोड बढी कित्ता सेयर सूचिकृत भएको हो ।

यस साताा सेन्चुरी कमर्सियल बैंकको ५३ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । हिमालयन बैंकको १ करोड १६ लाख ६४ हजार ४ सय ५० तथा एभरेष्ट बैंकको ६० लाख ५२ हजार १ सय ६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । एनआईसी एसिया बैंकको १ करोड ३ लाख ६७ हजार ३ सय १० र प्राइम कमर्सियल बैंकको ५६ लाख ५२ हजार ९५ कित्ता बोनस सेयर यो साता बजारमा सूचीकृत भएको छ ।

त्यस्तै विकास बैंकतर्फ मनास्लुको २ लाख १८ हजार २ सय ९५ तथा बागमती विकास बैंकको ७५ हजार कित्ता बोनस सेयर बजारमा थपिएको छ । फाइनान्सतर्फ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको ३ लाख ८३ हजार ४ सय, गुडविल फाइनान्सको ३ लाख ३० हजार ६ सय ५२, नेपाल एक्सप्रेस फाइनान्सको ३ लाख ४२ हजार ५ सय ३७ कित्ता र मञ्जुश्री फाइनान्सको २ लाख ५६ हजार ५ सय कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । लघुवित्ततर्फ स्वरोजगार लघुवित्त कम्पनीको १ लाख ३६ हजार ८ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरूको कारोबार भएको छ । २ अर्ब २६ करोड ८३ लाख रूपैयाँ बराबरका ४४ लाख ७२ हजार ८ सय ४० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८ दशमलव ६४ प्रतिशतले बढी हो । गत साता २ अर्ब ०८ करोड ९० लाख ६७ हजार रूपैयाँ बराबरका ३४ लाख ०६ हजार ६ सय ३० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३ दशमलव ३६ अंकले बढेर अन्तिम दिन १ हजार४ सय ५ दशमलव ७८ अंकमा पुगेको छ । समूहगत रूपमा हेर्दा बजारमा जलविद्युत समूह ३ दशमलव ६५ अंकले घटेको छ ।

व्यापार समूह स्थिर रहेको छ भने अरू सबै समूह बढेका छन् । वाणिज्य बैंक समूह २७ दशमलव ४ अंकले बढेको छ । विकास बैंक समूह २४ दशमलव ४७, होटल समूह ५९ दशमलव ५, फाइनान्स समूह ९ दशमलव ४, बिमा समूह ५२ दशमलव ५ र उत्पादनमूलक समूह ३२ दशमलव ८ अंकले बढेको छ । अन्य समूह ५ दशमलव ८७ अंकले बढेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको १६ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक (संस्थापक) र सिटिजन्स बैंक कारोबार रकमका आधारमा उत्कृष्ट ५ कम्पनीमा पर्न सफल भए ।

कारोबार भएको सेयर संख्याको आधारमा एनआइबिएल सम्वृद्धि फण्ड १ अग्रस्थानमा रहेको छ । उसको छ लाख छ हजार कित्ता सेयर कारोबार भएको छ । त्यसैगरीे कारोबार संख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो ।

यो साता बजारले १४ सय अंक पार गर्नुलाई सेयर बजारमा महत्वका साथ हेरिएको छ । बजार अझै बढ्ने आँकलन गरिएको छ । कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणहरू आउने क्रम सुरु हुनुले बजार अझै उचाईमा पुग्ने अनुमान छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा सेयर नपरेको ४० अर्ब बढी रकम वैशाख ५ गतेदेखि लगानीकर्ताले फिर्ता पाउने छन् । सो रकमको केही हिस्सा बजारमा जाने हुँदा पनि बजार बढ्ने आधार बलियो रहेको विश्लेषण गरिएको छ ।

अर्कोतर्फ पुँजी बढाउन कम्पनीहरूले हकप्रद र बोनस सेयरलाई प्राथमिकता दिएकाले लगानीकर्ताहरूको आकर्षण बजारमा अझै बढ्ने छ । कैयन कम्पनीहरू हकप्रद सेयर स्वीकृतिको पर्खाइमा रहेका छन् ।

सामान्यतः वैशाख महिनादेखि भदौसम्मको अवधिलाई सेयर बजारको सिजनसमेत मान्ने गरिएको छ । कम्पनीहरूको लाभांश लिन यो समयमा सेयरको मूल्य अन्य समयभन्दा बढ्ने गरेको पाइन्छ ।

प्रतिक्रिया