भूइँचालोले खानेपानीको मुहान बन्द

वैशाख ४ भोजपुर । भूइँचालोले मुहान बन्द भएपछि पिउनेपानी अभावभएपछि भोजपुरमा विभिन्न गाउँका बासिन्दा बसाईं सर्न थालेका छन् । उनीहरू खानेपानी योजना संचालनका लागि मुहान नभएपछि पिउनेपानीको असुविधाका कारण बसाईं जान थालेका हुन् ।

सदरमुकाम नजिकैको मानेभञ्ज्याङ गाविस–९ थाक्ले, गुराँसे, जुकेपानीका १५ घरपरिवारले एक महिनाअघि गाउँ छाडेर तराईतीर बसाईं गएका छन् । भोर्लेनी, आम्बोटे, चाक्से, डाँडागाउँ, तुन्ताङ, डडुवा, कात्तिकेका बासिन्दाले समेत बसाईं जाने निर्णय गरिसकेको स्थानीय जुकेपानी निमाविका शिक्षक इश्वर पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार मानेभञ्ज्याङ गाविसको मोहरिया, फँलाटे, पूर्खेटार, साउनेपानी, दमैछाप, अर्चले गाउँका बासिन्दा खानेपानीको अभावकै कारण यो वर्ष करिब ५० घरपरिवार बसाईं सर्ने तयारीमा छन् ।

भूकम्प आएसँगै गाउँ बस्ती नजिकै रहेका साना ठूला पानीका मूल सुकेकाले पूरै गाविसका बासिन्दाले पिउनेपानीको अभाव झेल्दै आएका छन् । मानेभञ्ज्याङ गाविसमा प्राकृतिक कुवा, धारा, पँधेरा लगायत पानीका साना ठूला श्रोत सुकेपछि समस्या हुन थालेको हो । विनाशकारी भूकम्पले प्राकृतिक रूपमा रहेका पानीका श्रोतहरू सुकेका छन् । पूराना धारा, कुवा, पँधेरा, खोला, खोल्सी सुकेपछि मानेभञ्ज्याङ गाविसको ९ वटै वडामा खानेपानीको हाहाकार भएको मानेभञ्ज्याङ–४ डडुवाका अर्का शिक्षक जयकुमार राईले बताए ।

घण्टौं लाइनमा पालैपालो भर्दा रातभर, दिनभर नै बसेर पानी भर्नुपर्ने भएकोले जग्गा जमिन घर छाडेर बसाईं जाने विकल्प रोज्नुपरेको मानेभञ्ज्याङ–८ का राजकुमार पौडेलको भनाइ रहेको छ । उनले भने, ‘मानेभञ्ज्याङ गाविसमा प्राकृतिक ढुंगे धारा, कुवा, पँधेराबाहेक पिउनेपानीको बैकल्पिक स्रोत छैन । यस गाविसको उत्तरतीरबाट बेहेरे, पूर्वमा पिखुवा र पश्चिमतीरबाट मकुवा खोला बगेर खेर गएपनि वस्तीसम्म ल्याउन कठिन छ ।’ यस्तै भूकम्पले दलगाउँ गाविस–१ कैंदले, लाकुरे लगायत विभिन्न वस्तीमा ढुङ्गेधारा, कुवा, पंधेरा सुकेकाले खानेपानीको अभाव छ । दलगाउँ, भूल्के, बैकुण्ठे, बासिखोरा, होम्ताङ, ठूलोदुंमा, सानोदुंमा, जरायोटार, दोभाने गाविस लगायत विभिन्न ठाउँमा पानीको मुहान सुकेका छन् ।

मुहान सुक्नाले जिल्लाको अधिकांश बासिन्दा पिउनेपानीको अभाव झेल्दै आएका छन् । कतिपय गाविसमा सुख्खा खडेरीको बेला हरेक बर्ष पिउनेपानीको अभाव भोग्दै आएका छन् । पहाडबाट सुविधाको खोजी गर्दै तिब्रगतिमा तराईतीर बसाईसराइ हुने गरेकोमा यसवर्ष पिउनेपानीको अभावले गाउ छाड्नेहरूको संख्यामा समेत वृद्धी भैरहेको छ ।

प्रतिक्रिया