संविधान कार्यान्वयनमा समस्या : देउवा

काठमाडौं, ४ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा समस्या रहेको बताएका छन् । उनले मधेस समस्यालाई समाधान नगरिकन अन्य समस्या समाधन नहुने धारणा राखेका छन् । उनले गएको वर्षमा भएका सबै समस्याको नयाँ वर्षमा समाधान गर्न सबैको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे । शनिबार आयोजित कांग्रेस पाल्पा– काठमाडौँ सम्पर्क समितिको दोस्रो अधिवेशनमा सभापति देउवाले देश अझै भूकम्पको त्रासबाट मुक्त हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष देउवाले भूकम्प गएको एकवर्ष बित्न लाग्दा समेत सरकारले पीडितलाई पुनःस्थापित गराउन नसकेको आरोप लगाए । उनले भने, ‘जनता अझै भूकम्पको पीडाबाट बाहिर आउन सकेका छैनन् । सरकारले पुनःनिर्माण र व्यवस्थापन गर्न सकेको छैन । उनीहरू अझै पनि कष्टकर जीवन बिताउन बाध्य छन् ।’

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले भूकम्पपीडितले एक वर्षसम्म राहत नपाउनु दुःखदायी भएको बताइन् । उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई एक बनाएर संगठनलाई बलियो बनाउनेतर्फ आफ्नोलगायत सभापतिको ध्यान केन्द्रित रहेको जनाइन् । कांग्रेस नेता तथा सांसद गगन थापाले संविधान कार्यान्वयनमा राजनीतिक समस्या रहेकाले त्यसको समाधान गर्दै अघि बढ्नुपर्ने बताए । उनले लोकतन्त्रका लागि पटक÷पटक भएका आन्दोलनको उपलब्धिलाई स्थायी बनाउन सविधान कार्यान्वयन गर्नु आवश्यक भएको जिकिर गरे ।

प्रतिक्रिया