पोखरा, ३ चैत । कास्की पोखराको पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको मल्लकालीन तीर्थस्थल कोटभैरव र नजिकैको हुडिकोटको विकासलाई लक्षित गरी पार्क निर्माण गर्न लागिएको छ । कास्की दक्षिणभेगको भरतपोखरीस्थित प्रसिद्ध पर्यटकीय तीर्थस्थल कोटभैरव मन्दिर जाने मार्गमा निर्माणाधीन हाइल्यान्ड भैरव कोट शान्ति पार्कको शुक्रबार शिलान्यास गरिएको हो ।
पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल र हाई वान होप आयोजनाका निर्देशक डा. किशोरराज भण्डारीले संयुक्त रूपमा पार्क निर्माण कार्य सुरु गरेका हुन् । उनीहरूले हाई वान होप आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानीको २० हजार लिटर क्षमताको खानेपानी ट्यांकीको पनि शुक्रबारै शिलान्यास गरेका हुन् । कार्यक्रममा पूर्व मन्त्री शाहले पर्यावरणको संरक्षणका लागि जल, जमिन र जङ्गल संरक्षण गर्नु अपरिहार्य भएको बताए ।
पार्क व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले पर्यावरणको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । होपका निर्देशक डा भण्डारीले खानेपानी, सामुदायिक विकास आदिका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हाइल्यान्ड भैरव कोट शान्ति पार्कका अध्यक्ष चेतबहादुर महतले लगभग १० रोपनी क्षेत्रफललाई समेटेर बनाउन लागिएको पार्क यस क्षेत्रको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने उल्लेख गरे । समाजसेवी केशवराज लम्सालले विकास निर्माणका लागि समाजका सबैको एकताबद्ध सहयोग आवश्यक हुने बताए ।
प्रतिक्रिया