पोखरा, २ वैशाख । पोखरेली जनताको ४ दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ ।
विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको विमानस्थल निर्माणका एक अभियन्ता एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन् ।
पोखरेली जनताले ४ दशकदेखि विमानस्थल निर्माणका लागि देखाएको अग्रसरता एवं संघर्षले विमानस्थलको शिलान्याससँगै साकार रूप लिन लागेको उनले उल्लेख गरे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर ४ नम्बर प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय हो,’ उनले भने, ‘विमानस्थल निर्माणसँगै सडक यातायातलगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्छ ।’
पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा पोखरामा लामो प्रतीक्षापछि अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले पोखरा र ४ नम्बर प्रदेशका जनतालाई निकै हर्षित तुल्याएको बताउँछन् । संविधान प्राप्त भएपछिको ठूलो उपहारका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीले लिएको उनको भनाइ छ । विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा भएर लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने शर्माले बताए ।
जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल पनि विमानस्थलले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने धारणा राख्छन् । ०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले विमानस्थलको शिलान्यासको अवस्थासम्म आइपुग्नुलाई अत्यन्त हर्षका साथ हेरेको पौडेलले बताए ।
राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरि क्षेत्रीय समिति अध्यक्ष शंकरप्रसाद बरालले अन्तर्राष्ट्रिय विमानस्थल समग्र पश्चिमाञ्चल र यस क्षेत्रको विकासका लागि अत्यन्त उपयोगी हुने धारणा राख्छन् । ‘लामो समयको संघर्षपछि विमानस्थल शिलान्यास भएको छ,’ उनले भने, ‘यसलाई सबैले मिलेर समयमा नै सम्पन्न गर्न लाग्नुपर्छ ।’
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा र यस आसपासको धेरै सम्भावना खुल्ने बताउँछन् । उनले यसले स्थानीय विकासका धेरै सम्भावना खोल्ने विश्वास व्यक्त गरे । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थल सुहाउँदा पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताउँदै उनले विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु पनि आफँैमा यस क्षेत्रका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे ।
प्रतिक्रिया