बौद्ध महायान मतअनुसार संसारमा १००८ लोकेश्वर छन् । ती लोकेश्वरहरु लोककल्याण गर्ने देवता हुन् भनिन्छ । ती मध्ये काठमाडौं उपत्यकामा मुख्य चार लोकेश्वरहरुको विशेष पूजा गर्दै जात्रा मनाउँदै आएको देखिन्छ । ती चार लोकेश्वरमा वर्षा र सहकालका देवता ललितपुर बुंगमतिका रातो मच्छिन्द्रनाथ (बुंग द्यः) भृङ्गपाद अवलोकितेश्वर, श्रृष्टि र स्थिति समान पारी राख्ने देवता नालाका श्रृष्टिकान्ता लोकेश्वर, रोग र मृत्युबाट रक्षा गर्ने काठमाडौं केलटोलका आर्यावलोकितेश्वर सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) र रोग र सम्बन्ध विच्छेदको समस्या समाधान गर्ने कीर्तिपुर चोभारका आनन्दादी लोकेश्वर हुन् । यी चार लोकेश्वरमध्ये संसारमा जबसम्म दुःखी गरिब, असहाय, भई निर्वाण प्राप्त गर्न नसक्ने मानिस हुन्छन् तबसम्म आपूmले बुद्धत्व प्राप्त नगर्ने र लोकको कल्याण गरिरहने प्रतिज्ञा गरी बसेका देवता हुन्, आर्यावलोकितेश्वर करुणामय सेतो मच्छिद्रनाथ–जनबहाः द्यः ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी (चैतेदसैँ) देखि सुरु गरिन्छ । यो दिन श्री करुणामय सेतो मच्छिन्द्रनाथको उत्पत्ति भएको स्थान जमल तीनधारा पाठशाला अगाडि बनाइराखेको नौ तले शिखर शैलीको रथमा केलटोलको कनक चैत्य महाविहारबाट मच्छिन्द्रनाथको मूर्ति खटमा राखी बाजा बजाउँदै जात्रा गर्दै राख्न ल्याइन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क भोटाहिटी हुँदै असनमा अन्नपूर्ण अजिमाको मन्दिर अगाडि पु¥याई उक्त दिनको जात्रा सकाइन्छ । सेतो मच्छिन्द्रनाथको यात्रामा रथ तान्नुअघि गुरुजूको पल्टनले तोप पड्काई बाजा बजाई रथ तान्ने गरिन्छ । रथमा राजाको प्रतिनिधिको रूपमा मल्लकालीन राजाको ऐतिहासिक खड्क पनि राख्ने गरिन्छ । भोलिपल्ट रथलाई असन, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार अगाडिको कालभैरव स्थान अगाडि पु¥याइन्छ । त्यसको भोलिपल्ट मरु, चिकंमुगल, जैशीदेवल हुँदै लगनमा पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पु¥याउने बित्तिकै जात्रा देखाउन कुमारी घरबाट जीवितदेवीका रुपमा मान्दै आएका कुमारीलाई विमान खटमा राखी बाजा बजाउँदै लगन चोकमा ल्याई जात्रा देखाउने चलन छ । त्यहाँ रहेका मच्छिन्द्रनाथकी आमा भनिने सेतो अवलोकितेश्वरको मन्दिर र त्यही रहेको माँसीमा रुखमा तीन पटक रथ परिक्रमा गराई जात्रा सकाउने गरिन्छ । यसरी जमलदेखि लगनसम्म मच्छिन्द्रनाथको रथ तानेर जात्रा गर्दा अशक्त, रोगी र वृद्धवृद्धाहरुलाई स्वास्थ्य स्वस्थ पार्न र उद्धार गर्न करुणामय मच्छिन्द्रनाथले दर्शन दिने गरेको हो भनिन्छ ।
मच्छिन्द्रनाथलाई कानफुट्टा जोगी नाथ सम्प्रदायले गर्ने जुगी चक्र पूजामा एउटा सानो राँगो बली दिने गरिंदै आएको थियो तर जात्रा गर्ने गुथियारहरुले बौद्ध देवतालाई बली दिनु हुँदैन भनेकाले नरिबल फुटाउने गर्दै आएको हो भनिन्छ ।
मच्छिन्द्रनाथको रथयात्रा उत्तरी कोलीय ग्राम केलटोल जमल र दक्षिणी कोलीय ग्राम लगनको बीचको सम्बन्ध नवीकरण गर्ने पर्वको रुपमा पनि लिइन्छ । रथ यात्रा जमलबाट गर्नुपर्नेबारे एउटा किवंदन्ती छ । किवंदन्तीअनुसार कपिलवस्तुमा वीरद्धकबाट भएको शाक्य वंशको आमहत्यापछि उपत्यकामा भागी आएका कोलीय भगवान गौतमबुद्धका खलकले उत्तरी र दक्षिणी कोलीय ग्रामलाई बसोबास गरेका हुन् । उही उत्तरी कोलीय ग्राम जमलका र दक्षिण कोलीय ग्राम बनाई बसोबास गरेका हुन् । उही उत्तरी कोलीय ग्राम जमलका वासिन्दाले खेत खन्दा करुणामय मच्छिन्द्रनाथको मूर्ति भट्टाएका हुन् । त्यस मूर्तिलाई राजा गुणकामदेवले सपनामा देखेअनुसार करुणामयको आदेशमोजिम केलटोल कनक चैत्यको पश्चिमतर्पm स्थापना गराएको वंशावलीमा उल्लेख गरिएको छ । केलटोलमा कलात्मक प्यागोडा शैलीको मच्छिन्द्रनाथको मन्दिर निर्माण गरी राखेको छ ।
राजा शिवसिंह मल्लले ने.सं. ७०८ देखि देवताको मूति भेटिएको स्थान जमलबाट चैत शुक्ल अष्टमीका दिन मच्छिन्द्रनाथको रथारोहण गराई रथयात्रा चलाउने परम्परा चलाएका हुन् ।
चैत शुल्क अष्टमीका दिन काठमाडौंको जमलमा मच्छिन्द्रनाथको रथारोहण भइरहेको समयमा कीर्तिपुर चोभारका करुणामय आदिनाथ आनन्दादी लोकश्वरको महास्नान गराइन्छ । कलिगत सम्बत ३४०३ मा राजा अंशु बर्माले धर्मराज देवताको आज्ञा बमोजिम चोभारमा आनन्दादी लोकेश्वरको स्थापना गराएका हुन् भनिन्छ ।
किवंदन्तीअनुसार परापूर्वकालमा ललितपुरको ठैवमा तल्लो टोल बैजुमा रहेको आदिनाथ लोकेश्वरको मूर्तिसँगै रहेको खेतमा जहिले पनि असिना परेर बालीनाली बिग्रेर दुःख भइरह्यो । हरेक वर्ष बालीनाली बिग्रने गरी असिना परिरहेकोले खेतमा काम गर्ने ज्यापुहरुले अत्यन्तै रिसाइ त्यो आदिनाथको मूर्तिलाई खोलामा बगाइदिए । त्यहाँ एउटा कोरी महारोग भएका मानिसले दिनहुँ नुहाइरहँदा त्यस व्यक्तिको महारोग निको हुँदै गएछ । यसको कारण खोला छेऊमा देवता भएकोले हो भन्ने ठानी त्यस देवताको मूर्तिलाई डाँडामाथि बहालमा लगेर स्थापना गरिदिएछ । त्यो भेटिएको देवता कल्याण गर्ने देउता भिन्द्यः असल देवता नै हुनुपर्छ भनी राँगाको बली दिएर पूजा गर्दा देवता कोप भई झन् उल्टो महामारी जस्ता रोगले डरलाग्दो रुप लिएछ । चारैतिर हाहाकार भयो सबैले के गर्ने के नगर्ने भनी हाहाकार भई हिंड्न थाले । पछि उही कोरी रोगीको सपनामा देवता आएर म हिंसा कर्म गर्न नहुने देवता हुँ । लुभुका नेमकुल पूजारी र नन्द ग्वालासँग सल्लाह गरेर मेरो जात्रा चलाउनु भनेका रहेछन् । देवताको आज्ञा मुताबिक र त्यस कोरी व्यक्तिले सल्लाहअनुसार दश कर्मसहितको महास्नान गरेपछि मात्र महामारीको समस्या समाधान भएछ ।
राजा गुणकामदेवले कलिगत सम्वत ३८२५ मा आनन्दादी लोकेश्वर आदिनाथ र मच्छिन्द्रनाथको रथयात्रा एकैदिन चलाउँदै आएका थिए । तर आदिनाथको मूर्ति तिब्बतीहरुले चोरेर लगेकाले मच्छिन्द्रनाथलाई जस्तै दश कर्म मात्र गर्ने गरेछ रे ! चैत शुल्क अष्टमीका दिन महास्नान गर्ने क्रममा नख्खु खोलामा नन्द ग्वालाहरुले कलश पूजा गरेर दाफा भजनसहित बाजा बजाउँदै आदिनाथलाई मन्दिरमा राख्न लान्छन् ।
प्रतिक्रिया