समूहगत प्रस्तुति सकियो

uml_officeकाठमाडौं, १ वैशाख । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको प्रस्तुति सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बुधबार बाँकी २ समूहका टोली नेता क्रमशः शेरबहादुर तामाङ र केदार न्यौपानेले सुझाव दिएका थिए । छलफलका लागि १० समूह विभाजन गरिएकामा गत २९ चैतको बैठकमा विभिन्न ८ समूहका टोली नेताले प्रस्तुति गरेका थिए ।

समूहका नेताले सुझाव प्रस्तुत गर्दै पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, राष्ट्रिय विकासका कार्यक्रममा सरकार क्रियाशील हुनुपर्ने बताएका छन् । समूहगत प्रस्तुतिमाथि आएका सुझाव र आलोचनाबारे अध्यक्ष ओलीले बिहीबारको बैठकमा प्रत्युत्तर दिएपछि सो प्रतिवेदन पारित हुनेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बुधबारै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी र केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । गत २७ चैतेदेखि जारी बैठकका लागि स्थायी कमिटीका निर्णय अनुमोदन, पार्टी विभागमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ गरी संघीय संरचनाको संगठन निर्माण, बल्खुमा केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावलगायत कार्यसूची छन् ।

प्रतिक्रिया