उस्तै रौनक चैते छठको

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने चैते छठपर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदै छ ।

सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यसपर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा ४ दिनसम्म मनाइन्छ । छठपर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिँध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलासयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अर्घ चढाउने बेलामा समेत गीत गाइन्छ ।

चैत महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन आज बिहान व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउलगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरूले आँखा पनि भन्ने गरिन्छ ।

पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठपर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रूपमा विशेष गरी पाकेको केरा र खिरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राती चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

षष्ठीका दिन (तेस्रो दिन) गहँु र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्यसामग्री बनाइन्छ । छठपूजाका सामग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजासामग्री तयारपार्दा महिलाले श्रद्धापूर्वक गीत गाउने गर्छन् ।

केरवा ज फरल घउरस वोपर सुगा मडराय,
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।

छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतबाटै सचेत गराउन खोजिएको छ ।
सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छन् –

हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
छठी मैया होइब सहाय, छठ पूजन जाय ।।

(हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नुहोला ।)

निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’  कोरेका हुन्छन् ।

त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आरधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुरलगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।

अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ । प्रातःकालीन अर्घमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी
भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यसपर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि मानिसहरू यो पर्व  मनाउने गर्छन् ।

कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म सम्पन्न गरिने यो पर्वलाई कैत्की (शारदीय) छठ र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइनेलाई चैती (वासन्तीय) छठ भनिने मिथिला परम्पराका जानकारको भनाइ छ । दुवै छठका व्रत विधि, तयारी र सामग्री भने उस्तै रहने बर्दिवास–३ का बासिन्दा पुरोहित ब्राह्मण दिनेशकुमार झाले बताए ।

प्रतिक्रिया