खोटाङमा यात्रु बस दुर्घटना

Khotang accident2 copyकाठमाडौं, ३० चैत । मंगलबार विहान खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौंतर्फ हिँडेको यात्रुबाहक वस अर्खौले र हलेसीको सिमा क्षेत्रमा पर्ने काभ्रे बर्खेटारमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मृत्यु हुनेमा २४ जनाको घटना स्थलमै मृत्यु भएको हो भने ४ जनाको उपचारका लागि हलेसी उपस्वास्थ्य लाने क्रममा मृत्यु भएको घटना स्थलबाट रामकुमार राईले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा दिक्तेल नगरपालीका–१४ का सन्तोष कट्वाल, च्यास्मिटारका रविन राई, डिकुवा–८ का मेजर राई, खार्मी–५ का मीत्रकुमार राई, नीर्मलीडाँडा–३ की बिमला राई, च्यास्मीटार–८ का सुरेन्द्र राई, याम्खा–७ का भैरव राई र दिप्सुङका गोबिन्द तिमल्सेनाको सनाखत भएको छ ।

त्यसैगरी, उदयपुर ताम्लिछा–७ की शान्ता राई, बास्वोटे–३ का द्रविन राई, ठानागाँउ–३ का हेम सुनुवार र सोहि ठाँउका भाजुनारायण श्रेष्ठ, ताम्लिछा–५ की ओमश्री राईको सनाखत भएको छ ।

त्यसैगरी, सोलेखुम्बु पञ्चन–१ का सोम सुन्दास र काठमाडौं घर भएका अर्जुन उप्रेती (सवारी चालक) को पनि सनाखत भएको ट्राफिक कार्यालयका असाई तेजबहादुर बस्नेतले घटनास्थलबाट बताए ।

दिक्तेलबाट १८ जना यात्रु लिएर विहान पाँजबजे छुटेको बसमा बाटामै थपिँदै जाँदा ५२ जनाभन्दा बढी सवार रहेका थिए । सडक निर्माणको क्रममा रहेकाले कुनामा ढुँगा थुपारिएको र छेउबाट बस छिराउने प्रयास गर्दा बाटो भत्किएर दुर्घटना भएको खोटाङका ट्राफिक बस्नेतले जानकारी दिए ।

घाइतेको उद्वारका लागि गएको नेपाली सेनाको हेलिकप्टरले २० जनालाई काठमाडौंमा ल्याइ पु¥याएको छ । घाइतेमध्ये १५ जनालाई शिक्षण अस्पताल महाराजगंज पु¥याइएको छ । भने पाँच जनालाई बिएन्डबी अस्पताल ग्वार्कोमा राखिएको छ ।

०६५ सालमा दुर्घटनास्थल नजिकै वर्खेटारमा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु भएको थियो । सडक विभागले सडक स्तरोन्नतीको लागि काम गरिरहेको स्थानमा सडको भित्तामा ढुँगा थुपारेको कारण छेउबाट गाडी चलाउँदा सडक भत्किएर दुर्घटना भएको हुन सक्ने यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताएका छन् । दुर्घटनाको वास्तविक कारण भने खुलेको छैन र बृस्तिृत विवरण आउन बाँकी छ ।

(तस्बिर : बाबु बिजयको फेसबुकबाट)

प्रतिक्रिया