म्यानमारमा थप ६१ जना आस्थाका बन्दी रिहाइ

myanmarयांगुन, २८ चैत । म्यानमारमा शनिबार राती थप ६१ जना राजनीतिक आस्थाका बन्दी रिहाइ गरिएको छ । म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया शुक्रबारबाट सुरु भएको थियो । शुक्रबार एकै दिनमा १ सय ३८ जना बन्दी रिहा गरिएकोे थियो ।

यसप्रकार रिहा हुनेहरूमा सक्रिय कार्यकर्ता र विद्यार्थी रहेका छन् । ती बन्दीमा अधिकांशलाई राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले थुनामा राखेको बताइएको छ । शनिबार राती रिहा गरिएका थप ती ६१ जनालाई बाँकी जेल जीवन माफी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

यसअघि शुक्रबार म्यानमारको राजधानी नेपित्वका ४ वटा जेलमा रहेका बन्दीमध्ये १ सय ३८ जनालाई रिहा गरिएको थियो । यी आस्थाका बन्दीहरू रिहा गरिने संकेत प्राप्त भएपछि शुक्रबार बिहानैदेखि आफन्त जेलको परिसरमा जम्मा भएका थिए ।

म्यानमारकी नवनिर्वाचित विदेशमन्त्री एवं प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि आफूले जतिसक्दो चाँडो प्रक्रिया सुरु गर्ने बताएकी थिइन् । सोही बमोजिम उनीहरूलाई जेलबाट मुक्त गरिएको बताइएको छ । म्यानमारको जेलमा रहेका राजनीतिक अस्थाका बन्दीको रिहाइका लागि आफूले प्रक्रिया थाल्ने आश्वासन बिहीबार मात्र सुकीले एक सार्वजनिक सम्बोधनका क्रममा दिएकी थिइन् ।

उनले प्राथमिकताका आधारमा यस्ता बन्दीलाई रिहा गरिने भन्दै अब कसैले पनि राजनीतिक विचारधाराका कारण जेलमा बस्नुनपर्ने गरी नागरिकलाई सरकारले न्याय दिने पनि जनाएकी थिइन् ।

अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका छन् । राजनीतिक आस्थाका बन्दी रिहाइ गर्ने कार्य सुरु भएयता १ सय ९९ जना बन्दी जेल मुक्त भएका र यसमा ३६ जना महिला रहेका जनाइएको छ ।

प्रतिक्रिया