बुटवल, चैत २८ । पश्चिम व्यापारिक केन्द्र बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालले अवरोधका बीच पनि अस्पताल विकासमा छलाङ मार्दै अगाडि बढेको छ । १ वर्ष अगाडि अस्पताल माताहतका ७२ सटरहरूलाई टेन्डरमार्फत भाडामा लगाएको अस्पतालले पछिल्लो समय अवरोध छिचोल्दै अस्पतालको विकासका कार्यक्रमलाई अगाडि बढाएको छ । अस्पतालले पछिल्लो समय आइसियू, ओपिडी, प्रसूती सेवामा सुधार गर्दै आइटी क्षेत्रमा पनि फड्को मारेको छ ।
करिब १० महिनाको अवधिमा अस्पतालले उत्तरतर्फ रहेको व्यावसायिक सटरहरूलाई टेन्डरमार्फत भाडामा लगाएपछि आयस्रोत वृद्धि गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र खनालले सडक पारीको करिब १ बिघा जग्गालाई टेन्डर प्रक्रियाबाट व्यवसायीलाई भाडामा दिएपछि अस्पतालको आयस्रोतमा राम्रो वृद्धि भएको बताए । अस्पतालमा आफू सुपरिटेन्डेन भएपश्चात अस्तपालको गतिविधिबारे जानकारी दिँदै उनले टेन्डर प्रक्रियाबाट २ वर्षको लागि भाडामा लगाउँदा ४ गुणा बढी आम्दानी हुने बताए । उनका अनुसार अस्पतालले अब वार्षिक १ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ ।
अस्पतालमा बिरामीको संख्या बढी हुँदा वार्डको अभावका कारण इमर्जेन्सीमा बिरामी राख्नुपर्ने समस्याबाट पनि अब अस्पताल मुक्त हुने भएको छ । अस्पताले केही दिनमै मेडिसिन विभागलाई नवनिर्मित तल्लामा स्थानान्तरण गरी व्यवस्थापन गर्ने भएपछि यो समस्या समाधान हुने खनालले बताए । उनले भने, ‘अस्पतालमा प्रसूति कक्षमा बेड अभावमै सेवा दिन अप्ठयारो भएको थियो अब प्रसूति कक्ष नवनिर्मित कक्षमा राख्ने भएकाले त्यो समस्या छिट्टै समधान हुनेछ ।’
उनले प्रसूति कक्षमा ५० बेड थप हुने बताए । उनले अस्पतालमा जन्मेका बच्चालाई हुने आकस्मिक अवस्थालाई उपचार तथा व्यवस्थापन गर्न ८ बेडको एनआइसियू सेवा जेठभित्रै सञ्चालन गर्ने योजना रहेको बताए ।
अस्पतालका भवनहरू निकै जिर्ण र अव्यवस्थित ढंगका छन् । समयसापेक्ष वैज्ञानिक स्तरका नभएकाले अब अस्पतालले शिक्षण अस्पतालको परिकल्पना गर्दै मास्टर प्लान बनाएको छ । बढ्दो सेवाग्राहीहरूको चापलाई अहिलेको सेवाले थेग्न नसक्ने भन्दै अस्पताल परिसरको जग्गालाई ५ सय बेडसम्मको शिक्षण अस्पताल बनाउने मास्टर प्लान बनाइएको अस्पतालले जनाएको छ । सो अस्पताल निर्माणका लागि करिब २ अर्ब ५९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
पछिल्लो समय अस्पतालले विज्ञान प्रविधिलाई आत्मसात गर्दै आइटी क्षेत्रमा पनि प्रवेश गरेको छ । कुनै समय हातले लेखेर काम चलाउने अस्पतालले अहिले भने सफ्टवेयर प्रणालीबाट काम अगाडि बढाएको छ । अस्पतालले अहिले काउन्टरमा सफ्टवेयर जडान गरेको छ भने मेडिकल रेकर्ड शाखामा पनि सफ्टवेयर राखिएको छ । जसले स्वास्थ्य सेवासँग सम्बन्धित अभिलेख व्यवस्थित गरेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
अस्पतालले चालु आवमा ल्याबमा सफ्टवेयर राखी सफ्टवेयरबाट नै रिपोर्ट दिने तथा सेवाग्राही आफैँले कम्प्युटरबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्ने कम्प्युटराइज स्टमको व्यवस्था गर्न लागिएको उनको भनाइ छ । त्यस्तै चालु आवमा स्टोर औषधिसमेत सफ्टवेयर राखी अभिलेख चुस्त दुरुस्त राख्ने व्यवस्था गर्न लागिएको खनाले बताए ।
लुम्बिनी अञ्चल अस्पतालले आइतबारदेखि सामाजिक सेवा इकाइबाट सेवा सुरु गरेको छ । सामाजिक सेवा इकाइको एक कार्यक्रमका बीच रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गरे । नेपाल सरकार स्वास्थ्य मन्त्रालय सामाजिक सेवा इकाइ स्थापना तथा सञ्चालन निर्देशिका २०६९ अनुसार तोकिएबमोजिम सामाजिक सेवा इकाइ स्थापना गएिको हो ।
गरिब, असहाय अपांग, जेष्ठ नागरिक, लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिका र स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सेवा दिने राज्यको नीतिअनुरूप अस्पतालले सामाजिक सेवा इकाइबाट सेवा प्रदान गर्नेछ । तोकिएका नागरिकलाई उनीहरूको परिचय खुल्ने सिफारिसका आधारमा र तोकिएका नागरिकबाहेक अस्पतालको ओपिडीमा आएका बिरामीहरू र विभिन्न वार्डमा भर्ना भएर बसेका बिरामीलाई आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको अवस्थामा अस्पतालकै सिफारिसमा पनि निःशुल्क उपचार गर्ने लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।
सामाजिक सेवा इकाइ सञ्चालन गर्ने लुम्बिनी अञ्चल अस्पताल नवौँ हो । देशका अन्य विभिन्न ८ वटा अस्पतालले यस्तो सेवा दिइरहेका छन् ।
प्रतिक्रिया