मनास्लु–ल्होत्से हीरक महोत्सव मनाइँदै

काठमाडौं, २५ चैत । मनास्लु र ल्होत्से हिमालको आगामी ३० अप्रिल अर्थात् १७ वैशाखमा हिरक महोत्सव मनाइने भएको छ । आजभन्दा ६० वर्षअघि तीन जापानी नागरिक र एक नेपाली गरी चार आरोहीले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु र दुई सुइस नागरिकले ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेको सम्झनामा हीरक महोत्सव मनाउन लागिएको हो ।

१९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् ११ मेमा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेका थिए । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स राइस र लुच सिङ्गरले ल्होत्से हिमालको सफल आरोहण गरेका थिए ।

मनास्लु आरोहण गर्ने ४ मध्ये एकमात्र जीवित ९० वर्षीया जापानी आरोही हिगेता महोत्सवमा सहभागी हुन नेपाल आउँदै छन्, अन्य ३ जनाको निधन भइसकेको छ । हिगेताँसँगै जापानी मिडिया तथा माउन्टेनरिङ फेडेरेसनलगायतका ८७ जना जापानी आरोहीहरू नेपाल आउँदैछन् ।

ल्होत्से चड्ने स्विस नागरिक जीवित भए पनि उनीहरूको प्रतिनिधित्व गरेर अन्य आरोही नेपाल आउँदैछन् । समारोहमा स्विस राजदूतले प्रतिनिधित्व गर्नेछन् । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । ८ हजार मिटर अग्ला ८ वटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् ।

भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि हीरक महोत्सव निकै उपयोगी हुने सम्बद्ध अधिकारी बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्पपछि पर्यटक घटिरहेको अवस्थामा दुई हिमालको हीरक महोत्सवले आरोहीलाई पनि प्रोत्साहन र विश्वका पर्यटकलाई नेपाल घुम्न जानुपर्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताए ।

‘नेपालको पर्यटन भनेकै हिमाल हो, त्यसैले ६० वर्षअघि मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका आरोही नै यहाँ आएर हीरक महोत्सवमा सहभागी हुने भएकाले यसको आफ्नै गरिमा र महत्व हुन्छ’ हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्षसमेत रहेका सचिव राईले भने । काठमाडौंमा आयोजना गरिने महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हालैको मन्त्रीस्तरको निर्णयबाट सो समिति गठन गरिएको हो । महोत्सवको सहयोगका लागि विभिन्न क्षेत्रका ४४ वटा संस्था छनोट भएका छन् । महोत्सवको तयारीस्वरूप मूल समितिले उपसमितिहरू गठन गरी काम अघि बढाएको सचिव राईले जानकारी दिए ।

नेपाल सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश विश्वभर फैलाउन महोत्सवले सहयोग पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताए । हीरक महोत्सवका लागि विभिन्न मुलुकबाट आरोही तथा मिडियाहरू आउनेछन् । मूल आयोजक समितिको सदस्य सचिव संस्था एनएमएका अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म बेलायत, जर्मन, जापान, स्विट्जरल्यान्डलगायतका देशबाट सहभागी हुने जानकारी गराइसकेका छन् ।

नेपालले विश्वभरका १ सयभन्दा बढी अल्पाइन क्लब र त्यसका छाता संगठनहरूलाई हीरक महोत्सवमा सहभागिताका लागि आग्रह गरिएको शेर्पाले उल्लेख गरे । ९ मेमा काठमाडौंमा मात्र नभई गोरखा र मनास्लुको फेदी सामा गाउँमा पनि विविध कार्यक्रम गरी मनाइन्छ । काठमाडौंको कार्यक्रम सकेर जापानी आरोहीहरू मनास्लु क्षेत्रको ट्रेकिङ गर्ने बताइएको छ । यसअघि सन् २०१३ मा सगरमाथा र चो–यु हिमालको हीरक महोत्सव मनाइएको थियो । आगामी नोभेम्बर १९ मा मकालु र कञ्चनजंघाको हीरक महोत्सव मनाइने जनाइएको छ ।

प्रतिक्रिया