भोजपुरमा नरेशको युद्धकविता वाचन

naresh yuddha kabitaभोजपुर, २२ चैत । भोजपुर सदरमुकाममा अवकाश प्राप्त बेलायती सेनाका सिपाही तथा युद्वसाहित्यका अभियन्ता नरेश कांमाङको एकल कविता वाचन सम्पन्न भएको छ । बेलायतमा भइरहेको गेसो आन्दोलन तथा नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सक्रिय काङमाङले आफ्नो कविताको माध्यमबाट भोजपुरका सबै श्रोतालाई स्तब्ध नै पारेका छन् ।

आइतबार भोजपुर जिल्ला विकास समितिको सामुदायिक भवनमा धेरै वर्षपछि साहित्यकार तथा साहित्यप्रेमीहरूको ठूलै जमघट भएको थियो । साहित्यिक कार्यक्रमहरूमा कमै दर्शक श्रोता जम्मा हुने गरेको भए पनि भोजपुरमा भने यसपटक धेरै साहित्यप्रेमीको उपस्थिति थियो । गजल प्रतिष्ठानले यसअघि ०६७ मा गरेको राष्ट्रिय गजल महोत्सवपछि को यो ठूलो साहित्यिक जमघट भोजपुरका बजारवासीले बताएका छन् ।

भोजपुरस्थित साहित्यकला प्रतिष्ठानले आयोजना गरेको काङ्माङको एकल युद्ध कविता वाचन कार्यक्रमको प्रचारप्रसार तथा साहित्य तथा कविताप्रतिको अभिरुचिका कारण दर्शकहरू हलसम्म पुगेका थिए । आयोजकले स्थानीय सञ्चारमाध्यमबाट कार्यक्रमको प्रचार गरेपछि युद्ध कविता सुन्नकै लागि २ दिन समय खर्चेर दुर्गम गाउँमा रहेका साहित्य प्रेमीहरूको समेत सहभागी भएको आयोजकको दाबी रहेको छ । कार्यक्रममा पूर्वसभासद् सुदन किरातीले कविलाई शुभकामना दिने क्रममा मञ्चबाटै भने, ‘काङमाङज्यूको कविता सुन्नका लागि २ दिन अगाडीबाट नै विभिन्न कार्यक्रमहरू स्थगित गर्दै सदरमुकाममा बसेको छु ।’

कार्यक्रममा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ प्रगतिशील लेखक श्याम तमोट, साहित्यकार प्रगति राईलगायत कार्यक्रममा स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । प्रगतिशील लेखक श्याम तमोटले युद्धकवि नरेश काङ्माङलाई फेटा गुथाइसकेपछि ‘प्रियसी म कस्तो गएको थिएँ युद्धमा म त्यस्तै फर्किएको छु’ शीर्षकको कविताबाट वाचन थालेका युद्धकवि काङ्माङ्ले भोजपुरे साहित्यप्रेमीहरूलाई युद्धको मैदानमा उतारेका थिए ।

षड्यन्त्रपूर्ण गोर्खा भर्तीमा, बाध्यता अनि रहरले आदिवासी युवाहरूले होमिनुपर्ने यथार्थ बताउँदा युवाहरू चनाखो भएर कान ठाडो बनाउँथे । २ चरण गरी करिब २० ओटा कविता वाचन गर्दा अन्तसम्म सबै दर्शकहरू स्तव्ध भएर युद्धकवितामा हराइरहेका थिए । काङ्माङ्को कवितामा सिर्फ फोकल्लेन्ड, बर्मा, मलेसियाको युद्धमा गोर्खाली सीपाहीले भोग्नुपरेको पीडा, देखाएको बहादुरी मात्रा अनुभूति गरेनन् दर्शकले, त्यसको साथमा धेरै प्रश्नहरूले कुतकुति लगाएको थियो ।

काङ्माङ्ले कवितासँगै कविताको रचनागर्व सुनाइरहँदा साँच्चै एउटा युद्धको सचित्र दृश्य हेरिरहेको सबै दर्शकहरूले कार्यक्रम हलबाट बाहिर निस्केपछि प्रतिक्रिया दिएका छन् । नेपाली पाठ्यक्रमहरूमा पढ्दै आएको आदिकवि, आँशुकवि, महाकविलगायतका उपामाहरूकाबीच एउटा फरक उपमा युद्धकविबाट प्रत्यक्ष विभिन्न सीर्जनाहरू सुन्न पाउँदा कार्यक्रमको अन्त्यमा दर्शकहरूले आभारसमेत प्रकट गरेका थिए ।

प्रतिक्रिया