खानेपानी समस्या हटाउन ट्युबवेलबाट पानी

काठमाडौं, २२ चैत । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा खानेपानीको अभाव हटाउन दैनिक ४ करोड लिटर पानी उत्पादन गर्ने गरी ४० वटा गहिरो ट्युबवेल खन्न सुरु गरेको छ । सुक्खायामको आरम्भसँगै उपत्यकामा खानेपानीको अभाव हुन थालेपछि जमिनभन्दा २ सय ५० मिटर तलबाट ट्युबवेल खन्न सुरु गरिएको लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले जनाएका छन् ।

उनले उपत्यकामा दैनिक ३७ करोड लिटर पानीको माग भएकामा सुख्खायाममा ९ करोड लिटर र वर्षामा १५ करोड लिटर पानी मात्र उत्पादन हुन सकेको भन्दै उपत्यकाका विभिन्न भागमा ८ दिनदेखि १३ दिनको फरकमा मात्र पानी वितरण गर्न सकिएको जानकारी दिएका छन् । उनले भने, ‘यो समस्याबाट समाधानका लागि गहिरो ट्युबवेल खन्न सुरु गरिएको हो ।’

उपत्यकामा वितरण गरिएको खानेपानीको पाइपलाइन सयवर्ष पुरानोसम्म भएकाले उपत्यकामा ४० प्रतिशत पानी खेर गएको पनि लिमिटेडले जनाएको छ । लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरिरहेका ४० वटा ट्युबवेलमध्ये १५ वटा पूर्ण रूपमा, ५ वटा आंशिक रूपमा सम्पन्न भएको, १० वटा निर्माणीधन अवस्थामा र १० वटामा जग्गा विवादका कारण काम अघि बढ्न नसकेको प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिए । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराएको जग्गामा ट्युबवेल खन्दा पानीको स्रोत सुक्ने भन्दै स्थानीयवासीले विरोध गरेपछि १० वटामा काम हुन नसकेको उनले बताए ।

प्रतिक्रिया