भूकम्पपीडित बालबालिका बिक्री

काठमाडौ, २२ चैत । भूकम्पमा बाँचेका नेपाली बालबालिका बेलायती परिवारहरूलाई घरेलु कामदारका रूपमा बेचिएको सार्वजनिक भएको छ । नेपाली बालबालिका बेचिएको समाचार प्रकाशित भएपछि बेलायत प्रहरीले पनि छानबिन गर्ने भएको छ । बेलायती अनलाइन द सनको स्थलगत अनुसन्धानका आधारमा नेपाली र बिहारका बालबालिकालाई ५ लाख भारु अर्थात ८ लाख नेपाली रुपैयाँमा बेचिएको दाबी गरेको छ ।

बालबालिकालाई बिक्री गर्ने गिरोहको नाइके मख्खन सिंह नाम गरेका भारतीय भएको समाचारमा जनाइएको छ । उनी भारतको जालन्धरमा बस्छन् । मख्खनको समूहले बालबालिकालाई धर्मपुत्र र पुत्री वा घरेलु कामदारका रूपमा बेलायत पठाउने गरेको छ । सिंहले नेपालीका साथै भारतको बिहारका बालबालिकालाई ५ लाख भारुमा बेच्ने गरेका छन् । ग्राहकको भेषमा जालन्धरमा पुगेका द सनको टोलीलाई मख्खनले बालबालिका पनि भेटाएका थिए ।

उनीहरूमध्ये १० वर्षका अमृत, १२ वर्षकी पूजा र १३ वर्षकी सुस्तीरामलाई उनले पालैपालो उठाएर आफ्नो नाम र उमेर भन्न लगाए । पूजाले फुर्तिसाथ भनिन्, ‘मेरो बोलाउने नाम प्रिती हो ।’ मख्खनले तीनै बालबालिका स्वस्थ रहेको र काम गर्न सक्षम रहेको दाबी गरे । उनीहरूलाई बेलायतसम्म लैजान आवश्यक पर्ने कागजपत्र बनाउने मानिस आफूसँग भएको उनले दाबी गरे ।

भूकम्पबाट घरबारविहीन भएका सबै बालबालिकाहरू भारतमा आश्रय लिइरहेको दाबी गर्दै उनले भने, ‘काम लगाउन नेपालीहरू ठीक हुन्छन् । उनीहरूले मीठो पकाउँछन् पनि । भोलि तपाईंलाई कसैले पछ्याउँदै आउने पनि छैनन् । हामी बकाइदा उनीहरूका बाबुआमालाई भेट्छौँ, कुरा गर्छौं र सम्झौता गर्छौं ।’

‘१० वर्षभन्दा कम उमेरका केटाकेटी पनि पाइन्छ ?’ भन्ने प्रश्नमा मख्खन भन्छन्, ‘त्यति साना बच्चा लगेर के गर्नुहुन्छ । उनीहरू बाबुआमा खोज्छन्, रुन्छन् र झगडा गर्छन् । मेरो सल्लाह मान्नुहुन्छ भने १२÷१३ वर्षका लैजानूस् ।’

खरिदबिक्रीको कागजी सम्झौता भइसकेपछि बालबालिकाहरूलाई लैजाने कागजात तयार नभएसम्म भारतभित्रै थुनेर राख्ने गरिन्छ । त्यतिञ्जेलमा उनीहरूलाई विभिन्न घरायसी कामहरू सिकाइन्छ । नक्कली कागजात बनाउने गिरोह नै यहाँ सक्रिय रहेको पाइएको छ ।

नेपाली बालबालिका दासका रूपमा बेलायत ल्याइएको समाचार प्रकाशित भएपछि बेलायतका गृहसचिव थोमस मईले छानबिन गर्न निर्देशन दिएकी छन् । यसबारे बेलायतको नेसनल क्राइम एजेन्सीले अध्ययन गर्ने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया