राणा र राईलाई चोमोलुङमा सम्मान

chomalungmaकाठमाडौं, २१ चैत । चोमोलुङमा प्रतिष्ठान नेपालल गीतकार ज्ञानु राणा र साहित्यकार मुलवीर राईलाई सम्मान गरेको छ । राजधानीमा आयोजना गरेको एक विशेष समारोहबीच चोमोलुङमा सम्मान ०७२ बाट गीतकार ज्ञानु राणा र साहित्यकार मुलवीर राईलाई सम्मान गरिएको हो । सम्मानपत्रसहित सम्मानित व्यक्तिहरूलाई जनही ८ हजार ८ सय ४८ रुपैयाँ धनराशीसहितको पुरस्कारसमेत प्रदान गरिएको छ । उक्त सम्मान कार्यक्रमका प्रमुखअतिथि वरिष्ठ संगीतकार गणेश रसिकले उक्त सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा ‘मेले बनैमा’ बालगीति एल्बम विमोचन गरिएको थियो । धनबहादुर खालिङको रचना र संगीतकार पविधन खालिङ र यादव राईको संगीतमा उक्त एल्बम तयार गरिएको हो । उक्त एल्बम बिक्रीबाट संकलित रकम सोलुखुम्बू, फुलेलीमा अवस्थित श्री सरस्वती बालबाटिका विद्यालयलाई सहयोग स्वरूप प्रदान गरिनेछ ।

कार्यक्रममा वरिष्ठ संगीतकार गणेश रसिकले कला, साहित्य र संगीत क्षेत्रलाई तिखार्न चोमोलुङमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै यसलाई थप सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विमोचित ‘मेले बनैमा’ बालगीति एल्बमको समीक्षा संगीतकार शान्तिराम राईले गरेका छन् प्रतिष्ठानका अध्यक्ष जसिहाङ राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गीतकार टीका चाम्लिङ, किरात खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन खालिङलगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्य, संगीत र कलाको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको चोमोलुङमा प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया