हैरान केकी

keki-adhikariकाठमाडौं, २१ चैत । आफ्नो करिअरमा आजसम्म कुनै पनि चलचित्र हिट नभएकामा केकी अधिकारीको गुनासो रहेको छ । व्यक्तिगत रूपमा नायिका केकीलाई चलचित्र क्षेत्रमा फाइदा नै भए पनि उनका कारणले निर्माताहरूले भने घाटा बेहोर्दै आएका छन् ।

केकीले अहिलेसम्म सुपरहिट चलचित्रको अनुभव लिन नपाएकी भन्दै गुनासो नै पोखेकी छन् । निरन्तर असफल चलचित्र दिँदा केकीलाई लागेको छ उनले अझै पनि धेरै गर्न बाँकी छ । यो वर्ष पनि लगातार ३ वटा चलचित्र असफल भएपछि केकी असफल नायिकाको सूचीमा पर्ने पक्का छ । केकीले भनिन्, ‘मैले सुपरहिटको अनुभव लिन पाएको छैन । मैले असफलता देखेकी छु । यसले मलाई ऊर्जा त दिएको छ तर निर्मातालाई घाटा भएको छ ।’ तर, केकीलाई यो चिज सधैँ हुन्छ जस्तो लागेको छैन । उनलाई यो असफलताको क्रम पनि क्षणिक हुन्छ भन्ने लागेको छ । उनले भनिन्, ‘कुनै पनि काम गर्दा राम्रो गर्छु भनेर नै गरेकी छु । तर, खै कहाँ गएर के चिजले बिगार्छ भन्ने नै थाहा भएन । तर, मैले हरेश खाएकी छैन ।’

‘जब दर्शकले हामीलाई पुग्यो, तिमीले चलचित्र खेल्न छाडिदेउ भन्नुहुन्छ अनि मात्र म यो क्षेत्र छाड्छु’, केकीले भनिन् । उनका अनुसार आजसम्म जतिले उनको चलचित्र हेरेका छन्, ती सबै उनका सच्चा फ्यान मात्र हुन् । तर, चलचित्र चल्नका लागि सच्चा फ्यानले मात्र चलचित्र हेरेर हुँदैन।

प्रतिक्रिया