के छ हाम्रो आन्तरिक ?

Mohan Prasad Sapkotaराजनीतिक भाषा म जान्दिनँ तर मैले हेर्दा नेपालमा स्पष्टरूपमा तीन धार छन्– परम्परागत, यथास्थिति र उग्रअवसरवाद । सबै राजनीतिक दलको बनोट यी तीनै थरीको सम्मिश्रणले भएको छ । धर्म, जात, भूगोल र लिंगमा नै सबै कुरा टिकेको हुन्छ र यसमा अलिकति तलमाथि हुँदा राष्ट्रियता सिद्धिन्छ भन्ने सोच परम्परागत सोच हो । जे छ त्यही तन्काइरहुँ केही नलागे अलिअलि बदलिदिउँला भन्ने सोच यथास्थितिवादी सोच हो । आफूभन्दा बाहेक सबैका कारणले देश अगाडि नबढेको हो यिनलाई साम, दाम, दण्ड र भेद अपनाएर निर्मूल नपारी अगाडि बढ्न सकिन्न भन्ने सोच उग्रअवसरवाद हो । तीनै थरीको मिसावटबाट राजनीति भइरहेकाले हुनाले यसले न स्पष्ट बाटो पहिल्याउन सक्यो न त निकास नै दिन सक्यो ।

नेपाल भौगोलिक हिसाबले ठगिएको र अत्यन्त सम्वेदशील भूखण्डमा रहेको देश हो । यो संवेदनशीलतालाई लत्याएर जन्मेका उपर्युक्त तीनै थरी विचारको जन्मस्थल नेपाल होइन विदेश हो । राजनीति एउटा नशा हो । लागुपदार्थको नशाजस्तै हो यो नशा । आफूसँग पैसा भए त्यसैले किनेर, नभए मागेको पैसाले किनेर, त्यो पनि नपाए चोरेर र त्यो पनि नपाए लुटेर नशाबाजहरू जिउने गर्दछन्, नशा लिने गर्दछन् । नेपालका सबै राजनीतिक दल कुनै पनि मानेमा यो भन्दा फरक देखिएनन् ।

राजतन्त्र आपैmँमा शुद्ध र सही थिएन । परिवर्तित वातावरण अनुसारको गतिमा हिँड्न ऊ सकिरहेको थिएन, यो कुरा सत्य थियो । त्यसैले हामी जनतालाई राजनीतिले आफू महादेव बनेर खरको भित्ता भत्काएर हिरामोतिको कैलाशजस्तो घर छ भनेर देखाउन उक्साएको थियो । जनताले त्यसलाई सही ठाने र खरको घर (राजतन्त्र) भत्काइदिए । यसरी भएको घर च्यातिसकेपछि तिनले अर्को कुनै घर देख्न त पाएनन् नै लहेलहैमा छँदाछँदैको घर पनि भत्किएको अवस्था हो यो ।

जोगीको बरु गन्तव्य हुन्छ, यति घरसम्म भिक्षा माग्छु र यो ठाउँमा पुगेपछि बास बस्छु भनेर सोचेर हिँड्ने गर्दछ । तर, हाम्रो कुनै पनि राजनीतिको गन्तव्य निश्चित छैन । मिति सकिएको तेल नयाँ खोलमा हालेर बनेको मिति सच्याएर बजारमा बेचेझैँ गरेर जनतालाई झुक्याउन कहिले के त कहिले के नारा बेच्दै यिनले राजनीति गरिरहे, अभैm गरिरहेका छन् ।

एउटा सानो आन्दोलनमा पनि तयारीपूर्वक गरिएको भए त्यसको असर र बैठानको पहिले नै योजना कोरिएको हुन्छ । तर, यहाँ जनताका नाममा अनगिन्ति आन्दोलन भए, भइरहेछन् तर कुनै आन्दोलनको पनि गन्तव्य र उद्देश्य थिएन, छैन । यसरी हुने आन्दोलनलाई देशभित्र सत्ता साझेदारी र भागबन्डामा मिलाउँदै गइयो र देशभित्र घुक्र्याउन नसक्दा बाहिरियाहरूको सहयोग लिइँदै गइयो । फलतः लोकतन्त्र आएर पनि जनतालाई त्यसरी नै बिर्सिने ग¥यौँ जसरी नदी तरेपछि लौरो बिर्सिने गरिन्छ । उग्रवामपन्थी धारले समयको माग अनुसार इतिहासमा सफल भएको माओ, लेनिन र कार्ल माक्र्सको शैलीलाई नेपालमा कहिले कुन नाम त कहिले कुन नाम दिएर प्रयोग गरिरहे । समाजवादी र राष्ट्वादी धारले आफूलाई नवउदारवादी र पुँजीवादीहरूको मन, वचन र कर्मले दास बनाउँदै गए ।

अब अहिले, कुनै पनि एउटा नेपालीको शरीरमा लगाएको एउटा धरो पनि स्वदेशी देखिँदैन । खाने औषधिदेखि प्रायः सबै उपभोग्य कुरा मागेर काम चलाउँछ । मागेर होइन किनेर भनिएला तर वास्तविकरूपमा हेर्ने हो भने हामी केही कुरा किन्न समर्थ छैनौँ । किन्न केही बेचिनु पर्दछ । बेचिन्छ के त भन्दा नेपाली आफैँ । स्वरूप र नाम र काम जे बताउने गरिए पनि नेपालको प्रमुख उत्पादन मानव नै हुन्, भइरहेछन् । विश्वयुद्धदेखि अहिलेसम्म नेपालमा उत्पादन भई निर्यात हुने मुख्य कुरो मानिस नै हुँदै आयो । नेपालबाट यहाँका अर्गानिक मानिस बाहिर जाने, लैजाने र बाहिरबाट नयाँ नस्लका नेपाली हामीले भित्र्याइरह्यौँ । आफू नै बेचिएर मेरो आय यति भनेर राजा हरिश्चन्द्रलेझैँ मसानमा बसेर लाश कुर्ने र पैसा गन्ने बानी पर्दै गयो । आजका दिनसम्म हामी कोही राष्ट्रवादी छैनाँ र हुन सिकेकै छैनौँ । एउटा दललाई आवश्यक पर्दा ज्यान फाल्न तयार हुने तर देशको सीमा मिचिँदा, देशमा आप्रवासीलाई अन्धाधुन्द नागरिकता बाँडिदा, राज्यसहितको संलग्नतामा पटकपटक आफूमाथि अन्याय हुँदा, देशका प्राकृतिक श्रोत साधनको खुलेआम तस्करी हुँदा अनि देशका उद्योग धन्दाहरू नासिँदा हामीले कहिल्यै एक भएर विरोध गरेनौँ, गर्न जानेनौँ । एकले अर्कोलाई देशघाती बनाउँदै गयौँ र आपूmलाई अब्बल दर्जाको देशभक्त ठान्दै गयौँ । सीमा मिचिएका मिचियै भए । देश धनी छ भनिरह्यौँ जनता गरिब बन्दै गए । हामीले जसजसलाई आफ्ना भन्दै गयौँ तिनले आत्मा बेच्दै गए । हामी झगडा गरिरह्यौँ तर हामीमा झगडा गराएर रातारात देशको ढुकुटी अनेक बहानामा निखार्दै नव अर्बपतिहरू थपिँदै गए । हामी यिनै आत्मा बेच्ने राजनीतिलाई विभिन्न सम्प्रदायमा बाँडिएर देवता मान्दै गयौँ ।

सबै किसिमको राजनीतिले भित्रभित्रै पराइको इशारामा हामीलाई नचाइरह्यो, प्रयोग गरिरह्यो । कुनै पनि राजनीति र तिनले खोस्टामा लेख्ने घोषणापत्रले देशको मुहार फेरिदैनथ्यो नै, फेरिएन । पहिला सुध्रनुपर्ने व्यक्तिले हो तर हामी कसैले पनि आत्मादेखि नै कुनै पवित्र उदेश्य लिएर कहिल्यै आन्दोलन गरेकै थिएनौँ त्यसैले हाम्रो आचरण फेरिने कुरै भएन । हामीले आजसम्म गरेका आन्दोलन कसैको लैलैमा लागेर अरू कसैका लागि गरिदिएका हौँ । यी आन्दोलनमा होमिने केही शुद्ध आत्माहरू अहिले पछुताउन पनि लाज मानिरहेका छन् ।

अन्यत्र राजनीतिक परिवर्तन जनताको जीवनस्तर परिवर्तनका लागि हुन्थे । यहाँ त नेताको जीवनस्तर परिवर्तन गर्न राजनीतिक परिवर्तन हुने गरेका छन् । कुनै नजिक वा टाढाको स्वार्थका लागि राजनीतिक परिवर्तन हुने गरेका छन् । विगतमा जस्तै अहिले पनि कुनै विदेशीले चापलुसी गरेर बोल्दा र गाली गर्दा नै हाम्रा नीतिहरू हल्लिन छोडेका छैनन् । कुनै एउटा विदेशी कलाकार, टेलिभिजनको कार्यक्रम प्रस्तोता, कुनै नेता वा दलले बोलेका कुरामा नै हल्लिन्छ हाम्रा नीतिहरू । कुन मुखले भनिरहेका छौँ कि हाम्रो आन्तरिक मामलामा हस्तक्षेप भयो भनेर । के छ हाम्रो आन्तरिक ? ५÷६ महिनाको नाकाबन्दीले देखाएको वास्तविकता पछि पनि यहाँका नेता, दल, कार्यकर्ता र सबै नेपालीले हाम्रो आन्तरिक के रहेछ भनी देख्नुपर्ने हो । तर, देखे पनि नदेखेको गरिरहेका छन् । हाम्रो शरीरका नशानशामा पराइले दिएको खानाले बनेको रगत बहिरहेछ । पचासौँ लाख जनतालाई विदेशमा गुलाम बनाउने को ? तपाईं हामी नै होइनौँ ? देशको आत्मनिर्भरतका लागि हामीले आजका दिनसम्म के गर्न सक्यौँ र देशभक्तिका कुरा गर्दछौँ । यो देशमा हाम्रो छ भन्नु माटोढुंगा र पानी मात्र रहेछ कि रहेनछ ?

आधार नै गुलामी गर्ने आधार छ त देशभक्तीका नाममा राजनीति किन गरिन्छ ? आधार किन फेरिन्न ? कोही ७ सालदेखि नै सबै हेरिरहने पनि त होलान् । नेपालीकै हीतका लागि (मात्र नेपालीकै हीतका लागि) कसकसले के गरे यो देशमा ? कुनै नजिक वा टाढाको छिमेकीले माया गरे ठीक र गाली गरे बेठीक भन्न त सकिन्छ तर त्यसलाई आधार बनाएर कसैको पनि राष्ट्रियता जोखिन्न । माटो, ढुंगा र पानीको भरमा राष्ट्रियता जोगिन्न । जबसम्म हामी देशभित्र एक हुन सक्दैनौँ, जबसम्म जस्केलोबाट विदेशीले दिएको खाना ल्याएर खाँदै मूलढोकामा अनशन बस्न छोड्दैनौँ, जबसम्म सबै नेपालीलाई नेपालीका आँखाले र सबै विदेशीलाई विदेशी आँखाले समान तरिकाले हेर्न सक्दैनौँ हामी झन् तरितन्नम हुँदै जानेछौँ ।

माटाको घैँटोमा दूध राखेर हिँडिरहेको व्यक्तिले दिउँसै सपना देखेर घैँटो फुटाएर दूध पोखेझैँ भएको छ भूकम्प र त्यसपछिका खर्बौंका राहतका कुरा । माग्नेले सुनको पलङका सुतेको सपना देखेझैँ भएको छ राहतका सपना । एउटा पक्षलाई गफ गर्न आउँछ, काम गर्न पनि आउँछ तर विदेशीले विश्वास गर्दैन, पैसै दिँदैन । अर्को पक्षलाई काम गर्न आउँदैन तर विदेशीले विश्वास गर्दछ । अहिलेको राजनीति त्यसैमा जाकिएको छ । भूकम्पबाट देश उकास्न सहयोग गर्ने वचन दिनेहरू सशर्त आइरहेका छन्, जनतालाई ढाँटेर राजनीति गर्नेहरूलाई ति शर्त पालना गर्न सहज छैन । जसको शर्त पालना गर्नु खानदानी पेसा थियो त्यो सरकारमा छैन । यी दुवै थरि राजनीति कुहिएका राजनीति हुन् जनताले लामो समयदेखि भोगिरहेका चतूर खेलाडी हुन् । यी दुवै राजनीतिमा वनमारा झारहरू फैलिएका छन् हेरौँ वन जोगिन्छ कि वनमारा जोगिन्छ, भविष्यले बताउँला ।

प्रतिक्रिया