अब फोहोरबाट मोहोर

feature1 (1) copyफोहर व्यवस्थापनका लागि राज्यबाट जति लगानी भएको छ नतिजा त्यति उत्साहप्रद छैन । बरु फोहरको व्यवस्थापनमा भएको लगानी बालुवामा पानी खनाए जस्तै भइरहेको छ । बुटवल उपमहानगरपालिकामा बर्सेनि फोहर व्यवस्थापनको समस्या बढ्दै गएपछि नगरपालिका अहिले वातावरणमैत्री र फोहरबाट मोहर फल्ने वैज्ञानिक व्यवस्थापनमा जुटेको छ । बुटवल उपमहानगरपालिकामा अबको केही वर्षभित्रै वातावरणमैत्री फोहर व्यवस्थापन प्रशोधन केन्द्रको स्थापना हुने भएको छ ।

फोहरको विसर्जन गर्ने अर्थात व्यवस्थापन गर्ने प्रविधि वातावरणमैत्री हुनेभन्दा पत्यारलाग्दो नहुन सक्छ । तर, बुटवल उपमहानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहरको व्यवस्थापन वातावरणमैत्री डिजाइनसहित स्थापना गर्न लागेको छ । बुटवल उपमहानगरपालिकाभित्र हाल दैनिक ५३ टन विभिन्न प्रकृतिका फोहर उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक छ । तर, नगरपालिकाभित्र उत्पादित फोहरको व्यवस्थापनको अहिलेसम्म कुनै स्थायित्व छैन । अव्यवस्थित फोहर विसर्जनका कारण यसले वातावरणमा असर पारिरहेको छ । अब भने नगरभित्रको फोहरको उचित व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकामा केही वर्षभित्रै वातावरणमैत्री फोहर व्यवस्थापन प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

वातावरणमैत्री फोहर प्रशोधन केन्द्रको स्थापनापछि बुटवलवासीले आफैँले उत्पादन गरेको फोहरसमेत बेचेर आम्दानी गर्न सक्नेछन् । यो प्रशोधन केन्द्रबाट दैनिक ७३ टन फोहर प्रशोधन हुनेछ । संकलित फोहरको झन्डै ६४ प्रतिशत कम्पोष्ट मल उत्पादनका लागि उपयोग हुनेछ भने २८ प्रतिशत पुनःप्रयोगमा आउँछ । बाँकी ८ प्रतिशत धुलोजन्य फोहर रहनेछ । यसबाट दैनिक ८.६ टन कम्पोष्ट मल उत्पादन हुनेछ ।

प्रशोधन केन्द्रमा जडान गर्ने प्रविधिले कुनै पनि किसिमको गन्ध आउने ग्यास उत्पादन हुन नदिने यस क्षेत्रमा लागेका प्रविधिज्ञहरूको दाबी छ । यस्तै, शून्य फोहर सिद्धान्तका साथसाथै पुनःप्रयोग र पुनर्निर्माणको सिद्वान्तमा आधारित डिजाइनसहित फोहर प्रशोधन केन्द्रको स्थापना गरिने बताइएको छ । बुटवल नगरको वडा नं. ९ शिवनगर सामुदायिक वनको भनभनेको ४ दशमलव ८४ हेक्टर जमिनमा प्रशोधन केन्द्रको स्थापना गरिने छ ।

उत्पादित फोहर सबै प्रशोधन केन्द्रमा प्रशोधन गर्ने नभई घरमा उत्पादित कुहिएर जाने फोहर सकेसम्म घरघरमा नै खेतबारीमा हाली व्यवस्थापन गर्ने र बाँकी फोहरलाई प्रशोधन केन्द्रमा प्रशोधन गरी मल बनाई बिक्री गर्ने यो परियोजनाको लक्ष्य हो ।

यो प्रविधिको फोहर व्यवस्थापन प्रक्रिया वास्तवमै वातावरणमैत्री र फोहरलाई रुपैयाँमा बदल्ने हो । प्रशोधन केन्द्रमा ल्याइएको फोहरलाई भनै पुनः छनोट गरी बिक्री गरिन्छ ।

सडक र घर आँगन सफा गर्दा निस्कने धुलो मैलोलाई केन्द्रमा रहेका ३ वटा क्षेत्रमा राखिन्छ । एउटा भिरएपछि क्रमशः अर्कोमा मिलाएर राखी दैैनिक माटोले छोप्ने र मेसिनले पेल्ने काम हुन्छ र यसैबाट कम्पोस्ट मल बनाइन्छ । केन्द्रमा अस्पतालजन्य फोहर, औद्योगिक फोहर र पशुपंक्षीजन्य फोहरको व्यवस्थापन हुने छैन ।

मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत स्थापना हुने यो प्रशोधन केन्द्रमा जनताको प्रत्यक्ष सहभागिता गराई सञ्चालन गर्ने लक्ष्य रहेको बुटवल नगरपालिकाका कार्यकारी प्रमुख धु्रबबहादुर खड्का बताउँछन् ।

वातावरणीय परीक्षण मूल्यांकन स्वीकृतिका लागि जनसंख्या तथा वातावरण मन्त्रालयमा पेस भएको प्रस्तावित यो प्रशोधन केन्द्र बस्ती र खेतीयोग्य जमीनदेखि करिब ९ सय ५० मिटर टाढा जंगलको बीचमा पहाड र जंगलले घेरिएको खोँचमा रहनेछ । अत्याधुनिक नयाँ प्रविधिका मेसिन औजार प्रयोग हुने भएकाले यसले वातावरणमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने र परियोजना निर्माण स्थलमा काटिने एक रुख बराबर २५ रुख रोपिने हँुंदा स्थानीय वातावरण संरक्षण हुने परियोजनाका प्रमुख परामर्शदाता केदारमान श्रेष्ठ बताउँछन् ।

प्रशोधन केन्द्रको समग्र क्षेत्र तारजालीले घेरिने भएकाले पशु चौपाया पनि सुरक्षित हुन्छ । परियोजना स्थल वरपर धार्मिक र ऐतिहासिक रूपले महत्व बोकेको कुनै पनि स्थान नभएकाले आयोजनाका क्रियाकलापहरूले नकारात्मक असर नपार्ने उनी बताउँछन् ।

यो परियोजना सञ्चालन हुँदा स्थानीय वासिन्दालाई रोजगारीसँगै आफैँले उत्पादन गरेको फोहर प्रशोधन केन्द्रलाई बेचेर मोहर बनाउने राम्रो अवसर मिल्छ । परियोजना सञ्चालन हुँदा निर्माण र सञ्चालन कार्यमा सिप र योग्यता अनुसार स्थानीय बासिन्दाले रोजगारीको पहिलो अवसर पाउने ग्यारेन्टी गरिएको छ । यसका साथै स्थानीय बासिन्दाले विभिन्न सिपमूलक तालिमहरू प्राप्त गरी भविष्यमा अन्य रोजगारीको समेत अवसर पाउने छन् । यसबाट स्थानीय बासिन्दालाई राम्रो स्तरको प्रांगारिक मल सस्तो र सुलभ दरमा उपलब्ध हुने उप महानगरपालिकाका कार्यकारी प्रमुख खड्का बताउँछन् ।

परियोजनासँगै स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, सञ्चार जस्ता क्षेत्रको विकास गरी स्थानीय जनतालाई सुविधा उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । प्राथमिक औषधापचारको व्यवस्था गरिने, स्थानीय समुदाय र आयोजनामा काम गर्ने कामदारबीच राम्रो सम्बन्ध कायम गर्न जनसम्र्पक अधिकृत नियुतm गरिने, प्रशोधन केन्द्रसम्म सडक कालोपत्र सहित स्तरोन्नति गरिने, बिजुली र सञ्चारको व्यवस्था गरिने कार्यकारी प्रमुख खड्काको भनाइ छ ।

नेपालकै पहिलो आधुनिक प्रशोधन केन्द्रका रूपमा स्थापना हुने यो परियोजनालले ग्रामीण पर्या–पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । योजनाको प्राप्त अन्तिम डिजाइन प्रतिवेदनअनुसार परियोजनाको काम सुरु भएको मितिले ६ सय दिनमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता समेत भइसकेको छ ।

ठेक्का सम्झौताअनुसार २८ करोड ९५ लाख रुपियाँमा निर्माण कार्य सम्पन्न हुनेछ । परियोजनाको कुल लागतमध्ये ८४ प्रतिशत नेपाल सरकारको अनुदान, ८ प्रतिशत जनसहभागिता र ८ प्रतिशत नगर विकास कोषमार्फत ऋण लगानी हुनेछ ।

प्रतिक्रिया