पत्रकारका लागि जग्गा उपलबध गराउने प्रतिबद्धता

pachtharपाँचथर, १६ चैत । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले पत्रकार महासंघको कार्यालय भवनका लागि जग्गा उपलब्ध गराएरै छाडने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघको ६१औँ स्थापना दिवसको अवसरमा मंगलबार महासंघको पाँचथर शाखाले जिल्लाका सञ्चार गृह र पत्रकारहरूको अवस्थाका बारेमा अन्तर संवाद कार्यक्रममा महासंघ पाँचथरको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका विद्युतीय तथा छापा सञ्चार गृहका प्रमुख तथा प्रतिनिधि र क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

सञ्चार गृहका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लामा रहेका कार्यालयका अधिकांश सूचनाहरू आफूहरूसम्म आइनपुग्ने भन्दै ती सूचनाहरू स्थानीय सञ्चार गृहहरूलाई उपलब्ध गराउने सन्दर्भमा पहल गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

कार्यालयका धेरै सूचना जिल्ला बाहिरका सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेको भन्दै उनीहरूले राष्ट्रियस्तरका सञ्चार माध्यममा दिनैपर्ने बाहेकका अन्य सूचना स्थानीय सञ्चार माध्यमले पाउनुपर्ने माग गरे । आफ्नो सञ्चारगृहमा कार्यरत कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके बमोजिमको सेवा–सुविधा दिन नसके पनि स्वयं उनीहरूसँग हुने सम्झौता अनुसारको पारिश्रमिक उपलब्ध गराउँदै आएको जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले आफू मातहतका कार्यालय प्रमुखहरूसँगको आगामी बैठकमा एजेन्डाको रूपमा अघि बढाएर सूचना प्रकाशन तथा प्रसारणमा स्थानीय सञ्चार माध्यमलाई पहिलो प्राथमिकतामा राख्न पहल गर्ने आश्वासन दिए । कार्यक्रममा सभापतित्वको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले ‘पाँचथरे पत्रकारिताको संक्षिप्त चित्रण’ नामक सामग्री प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया