राज्य ढुकुटीमा ब्रम्हलुट : सुशासन समिति

काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारका मन्त्रीहरूमाथि राज्यकोषको ढुकुटीमा ब्रम्हलुट मच्चाएको आरोप लागेको छ ।

सत्तारूढ दलकै सांसद्हरूले प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरूले राज्यकोषको रकम जथाभावी खर्च गरेर लुट मच्चाएको आरोप लगाएका हुन् । संसद्को सुशासन तथा अनुगमन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री, मन्त्री र संवैधानिक निकायका पदाधिकारीहरूको मनपरितन्त्रले पराकाष्ठ नाघेको आवाज उठेको थियो ।

प्रधानमन्त्री ओलीले निर्देशिकाले तोकेको भन्दा तेब्बर बढी संख्याको जम्बो टोली भारत र चीनको भ्रमणमा लानु, मन्त्रीहरूले पार्टीको कामका लागि जिल्ला गएको खर्च राज्यकोषबाट लिनु तथा आसेपासेहरूलाई जथाभावी रूपमा रकम बाँड्नु, कानुन नै नबनेको अवस्थामा पूर्वपदाधिकारीहरूलाई जथाभावीरूपमा आवास र गाडीको सुविधा दिइनुलगायत घटनाले लुटको झल्को दिएको समितिका सदस्यहरूले बताएका छन् ।

उनीहरूले पूर्वपदाधिकारीलाई आवास र गाडीको सुविधा दिन रोक लगाउन तथा राज्यको ढुकुटीबाट तलब सुविधा खाने सुरक्षाकर्मीलाई पूर्वपदाधिकारीको अगाडि पछाडि नखटाउन निर्देशन दिनुपर्ने बताएका छन् । समितिका सदस्यहरूले राज्यकोषको रकम लुटको शैलीमा खर्च गरिँदा पनि थाहा नपाए झैँ गरी निर्देशन नदिएकामा समितिका सभापति मोहनसिंह राठौरको आलोचनासमेत गरेका छन् । बैठकमा समितिका सदस्यहरूले कालोबजारी र महँगीले पराकाष्ठा नाघ्दा पनि सरकार रमिते भएको भन्दै यस विषयमा प्रधानमन्त्री ओलीलाई बोलाएर निर्देशन दिनुपर्ने बताएका छन् । समितिले आफूले उठाउनुपर्ने विषयका प्राथमिकताबारे छलफलका लागि मंगलबार सिंहदरबारमा बैठक बोलाएको थियो ।

प्रतिक्रिया