संसद् भवनलाई लक्ष्य गरी तीनवटा रकेट प्रहार

काबुल, १५ चैत । अफगानिस्ताको राजधानी काबुलमा अवस्थित राष्ट्रिय संसद् भवनलाई नै लक्ष्यगरी रकेट हमला गरिएको छ । प्रत्यक्षदर्शीहरूले सो आक्रमणमा परी जनधनको ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेका छन् । प्राप्त समाचारमा भवनलाई नै लक्ष्य गरेर ३ वटा रकेट आक्रमण भएको देखिएको बताइएको छ ।

३ वटा रकेट आक्रमण भएका थिए र एउटा संसद् भवनभित्रै परेको टाढैबाट देखिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीले सोमबार बिहान स्थानीय समयअनुसार सवा १० बजेतिर ३ वटा रकेट संसद् भवनको परिसरभित्रै पर्नेगरी खसेका देखिएको जनाएका छन् ।

यहाँका १ जना स्थानीय मोहमद सफाले भनेका छन्, ‘संसद् भवनमै पर्नेगरी फालिएका ती रकेटका कारण भवन वरिपरि धुवाँ उडेको देखिएको र ठूलो आवाज पनि आएको थियो ।’ अफगान सुरक्षा स्रोतले प्रारम्भिक अनुसन्धानबाट हाल केही नदेखिएको जनाएको छ । प्ररम्भिक अनुसन्धानबाट कसैको पनि हताहतिको समाचार भने नआएको पाइएको उल्लेख गरिएको छ ।

रकेट हमलाका कारण निकै नै ठूलो क्षति भएको अनुमान सर्वत्र गरिएको छ । ती रकेट खसेपछि आएको आवाज र आकासमा धुवाँ उडेको अवस्थाबाट पनि क्षतिको अनुमान प्रहरीले गरेको छ ।

अफगान प्रहरी र सेनाको संयुक्त सुरक्षा दल घटनास्थलमा पुगिसकेको जनाइएको छ । घटनास्थलबाट प्रहरीले कयौँ सूचना संकलन गरिरहेको र केही समयपछि पूर्ण विवरण प्राप्त हुने अनुमान गरिएको छ ।

यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तैपनि अफगानिस्तानमा भएका यस्ता हिंसात्मक घटनामा यहाँका तालिवानहरूकै हात रहने गरेकोले यसमा पनि उनीहरूको संलग्नताको अनुमान अफगान सुरक्षा निकायले गरेको छ ।

प्रतिक्रिया