पुनर्निर्माणमा एडिबीले सहयोग थप्ने

ADBकाठमाडौं, १५ चैत । एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनर्निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन् । बैंकका तर्फबाट सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नेपालले आवश्यक ठानेको खण्डमा पुनर्निर्माणमा लागि करिब ६ अर्ब रुपैयाँ थप सहयोग गर्न तयार रहेको उनले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण र पीडितलाई राहत दिने विषयमा भइरहेको ढिलाइप्रति बैंकले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र उच्च सरकारी अधिकारीसँग भेट गरी उपाध्यक्ष झाङले भूकम्पपछिको पुनर्निर्माणको काम शीघ्र अगाडि बढाउन र बैंकको लगानी रहेका परियोजनामा गति प्रदान गर्न आग्रह गरेको बताए ।

उपाध्यक्ष झाङले भने, ‘प्रधानमन्त्री, मन्त्री र अरू पदाधिकारीसँगको छलफलपछि मलाई विश्वास छ, नेपालको समग्र विकास परियोजना, भूकम्पपछि पुनर्निर्माण प्रक्रियाले गति लिनेछ ।’

मेलम्ची खानेपानी आयोजनाको काममा भइरहेको ढिलाइले काठमाडौं उपत्यकामा खानेपानी उपलब्ध गराउने कार्यसमेत प्रभावित भएकाप्रति आफू जानकार रहेको भन्दै उपाध्यक्ष झाङले प्रभावकारी अनुगमन र क्षमता अभिवृद्धिका लागि मिलेर जानुको विकल्प नभएको बताए । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको प्रभावकारी कार्यान्वयनपछि दोस्रो चरणलाई पनि ऋण सहयोग उपलब्ध गराउन सकिने उल्लेख गर्दै उनले सडक, विद्यालय एवम् सरकारी कार्यालयको पुनर्निर्माणमा समेत तदारुकता जरुरी रहेको बताए ।

यस्तै बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको २५ मेगावाट सौर्य प्रणालीको बारेमा पनि निकट भविश्यमा नै आवश्यक निष्कर्षमा पुगिने उनको कथन थियो । यस्तै ३ सय मेगावाट क्षमताको दूधकोसी र ४ सय १० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनामा पनि लगानी गर्न सकिने जानकारी गराइयो ।

उपाध्यक्ष झाङले मेलम्ची खानेपानी आयोजना, काभ्रेपलान्चोकको भूकम्पपीडित बस्तीको स्थलगत अध्ययन गरेका थिए । नेपालको आर्थिक विकास र समृद्धिका लागि बैंकका तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध गराउन र आवश्यक निर्णय गर्नसमेत आफूहरू तयार रहेको उनको भनाइ थियो ।

उपाध्यक्ष झाङ ‘सन् २०३० नेपालको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन आएका हुन् ।

प्रतिक्रिया