सर्स्युखर्कमा खानेपानीको हाहाकार

kavre_waterकाभ्रे, १४ चैत । जिल्लाको सर्स्युखर्कमा खानेपानी हाहाकार हुन थालेको छ । सर्स्युखर्क–१ स्थित माथ्लोटोल र तल्लोटोलमा भूकम्पपछि खानेपानीको मुहान सुकेर हाहाकार भएको हो ।

पानीको हाहाकार भएपछि त्यहाँका सर्वसाधारण रातभर नसुतेर पँधेरो र धाराहरूमा पानी लिन लाममा लाग्ने गरेका छन् । पहिले पनि खासै हिँउदमा पानी नआउने भए पनि भूकम्पपछि भने पानीको पूरै हाहाकार हुन थालेको स्थानीयले गुनासो गरेका छन् । पानीको अभावमा उनीहरू १ घन्टा टाढाको पोखरीपानीबाट उकालोहुँदै पानी बोक्न बाध्य छन् । निरन्तर पानीको समस्या भोक्दै आएका इन्द्रप्रसाद पाण्डेले भूकम्प आएपछि अलिअलि आउने पानी पनि आउन छाडेको बताएका छन् । उनले धाराहरू सबै सुख्खा रहेको पनि बताए ।

उनले भने, ‘पानीको मुहान नजिकै नहुँदा स्थानियबासीलाई रातको निन्द्राभन्दा पानीकै समस्याले सताइरहन्छ ।’ उनले अझै स्कुल पढ्ने विद्यार्थीहरूका लागि खानेपानी नहुँदा कक्षामा विद्यार्थीहरू समेत आउन छाडेको बताए । स्थानीय जन चेतना उमाविका प्रअ उमाकान्त त्रिपाठीले सर्स्युखर्कका विद्यार्थी रातभर पानीको लाइनमा बसेको भन्दै कक्षाकोठमा निदाउने गरेको बताए । यस्तो समस्याले पठनपाठनमासमेत प्रतिकूल प्रभाव पारेको उनको भनाइ छ । सर्स्युखर्क–१ को माथिल्लो भागमा पानीको मुहान सुख्खा भएपछि उनीहरूलाई यस्तो समस्या परेको स्थानीय राधाकृष्ण अधिकारीले बताए ।
उनले थपे कहिलेकाँही त गाडीमा ३ घन्टा पर चुखाखोलाबाट पानी गाडीमा ल्याउनुपर्ने बाध्यता छ । वर्षायाम सुरु हुँदा भने यस ठाउँका स्थानीयवासीमा एक किसिमको खुसी नै छाउने गर्छ । वर्षा हुँदा खुसी हुने स्थानीयवासीहरू वर्षाको सिजनकमा ड्रम पोखरी र कुवाहरूमा पानी जम्मा त गर्छन । तर, त्यो पनि १ महिनामै सकिन्छ त्यो पानी रहेसम्म त घरमा रहेका गाईभैँसीहरूलाई त्यही पानी दिइन्छ ।
यस्तै समस्यामा कोसीपारी बिर्तादेउराली गाविसमा पनि रहेको छ । त्यहाँको १, २, ३, ४ मा आएको पानीको मुहान गत वैसाख १२ र १३ र २९ को भूकम्पकका कारण सुकेपछि पानीको हाहाकार सुरु भएको हो । यहाँका १ देखि ४ सम्मका बासिन्दाहरू २ घन्टा लामो पैदल हिँड्दै बिर्तादेउराली–६ पाटीगैरामा तथा ठुली खोलामा पानी लिन जान बाध्य भएका छन् । खानेपानीको यो समस्याबाट खानीगाउँ पनि यस्तै समस्यामा रुमलीरहेको स्थानीयवासीको गुनासो छ । काभ्रेमा भूकम्पपछि पानीको मुहान सुक्ने क्रम जारी छ ।

प्रतिक्रिया