दलको नेता छनोटमा विवाद

congressकाठमाडौं, १४ चैत । पार्टी संसदीय दलको नेता चयनको विषयमा कांग्रेसभित्र तीव्र विवाद चुलिएको छ । पार्टी संसदीय दलको नेता तथा कार्यसमिति चयनका लागि पार्टीको नवनिर्वाचित केन्द्रीय समितिले गठन गरेको निर्वाचन समितिको पहिलो बैठकमा नै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको हो । निर्वाचन समिति संयोजक एवं केन्द्रीय सदस्य रमेश रिजालको अध्यक्षतामा आइतबार संसदीय दलको कार्यालयमा दिनभर बसेको बैठकमा सभापति देउवा पक्षले तत्काल मिति तय गरी निर्वाचनमा जानुपर्ने अडान लिएका थिए । तर, त्यसको प्रतिवाद गर्दै पौडेल पक्षका सदस्य गुरु घिमिरेले विगतमा दलको नेता चयनका लागि त्यतिबेलाको नेतृत्वले अल्पमतमा रहेको पक्षसँग सहमतिका लागि परामर्श लिने गरेजस्तै अहिले पनि पौडेलसँग परामर्श गर्नुपर्ने अडान लिएका थिए ।

घिमिरेको अडानपश्चात समितिका संयोजक रिजालले नेता पौडेलसँग फोन वार्ता गरी दलको नेता चयनका लागि ढिलाई गर्न नहुने धारणा राखेको थिए । ‘पौडेल र उहाँको पक्षले दलको नेता चयन प्रक्रियामा सहमति र सहकार्यको नाममा चयन प्रक्रिया लम्ब्याउने मनसाय देखाएपछि हामीले मुलुकको परिस्थितिलाई ध्यान दिँदै निर्वाचनको कार्यतालिका प्रकाशित गरेका हौँ,’ रिजालले भने ।

३ सदस्य रहेको समितिमा रिजाल र अर्का सदस्य सुरेन्द्र पाण्डेले निर्णयको पक्षमा हस्ताक्षर गरे पनि घिमिरेले आफ्नो असहमति दर्ता गराएका छन् । दलको नेताका लागि सभापति देउवासँग नेता पौडेलले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।

‘लामो समयदेखि दलको नेता चयन हुन नसक्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन,’ रिजालले भने, ‘यस्तो अवस्था लामोसमय रहँदा मुलुकमा संवैधानिक संकट आउने मात्रै होइन नवनिर्वाचित पार्टी नेतृत्वको कार्यशैलीमा पनि प्रश्न उठ्न सक्ने भएको हुँदा हामीले दलको नेता चयन प्रक्रिया अघि बढाएका हौँ ।’

बैठकमा असहमति जनाउँदै बाहिरिएका सदस्य घिमिरेले पत्रकारसँग भने, ‘विगतमा पार्टी नेतृत्वले अल्पमतमा रहेका देउवासँग पनि परामर्श गरी सहमतिका आधारमा अघि बढेको इतिहास बिर्सेर वर्तमान नेतृत्वले बहुमतका आडमा पेलेरै जान खोज्यो, त्यसमा मेरो असहमति छ ।’ त्यस अलवा दलको विधान परिमार्जन गरी प्रक्रिया अगाडि बढाउन उनले अडान लिएका थिए ।

बैठकबाट बाहिरिँदै संयोजक रिजालले भने, ‘दलको विद्यमान विधानले दलको नेता चयनका लागि कुनै बाधा व्यवधान नगरेको कारण लामो समयदेखि रिक्त दलको नेता चयनका लागि २३ चैतमा उम्मेद्वारी दर्ता र २४ गते मतदान हुने निर्णय भएको छ ।’ रिजालका अनुसार, नयाँ संविधान अनुसार दलको विधानमा आवश्यक परिमार्जन गर्न निर्वाचन समितिले केन्द्रीय समितिलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

अन्तरिम संविधान ०६३ को आधारमा तयार भएको कांग्रेस संसदीय दलको विधानको दफा ११ को कार्यसमिति गठनबारे उपदफा (क) अनुसार प्रत्येक विकास क्षेत्रबाट १÷१ जनाका दरले ५ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । तर, हालै जारी भएको नयाँ संविधान अनुसार, विकास क्षेत्रको सट्टा ७ प्रदेशको व्यवस्था रहेको छ । त्यस अनुसार सदस्यको चयनका लागि विधानमा परिमार्जन आवश्यक छ ।

त्यसैगरी सोही दफाको उपदफा (ख) अनुसार समानुपातिक प्रतिनिधित्वको आधारमा ५ वटा क्लस्टर (महिला, दलित, जनजाति, मधेसी र पिछडिएको क्षेत्र) बाट सदस्य निर्वाचित हुने व्यवस्था भए पनि नयाँ संविधानले त्यो संख्यालाई बढाएर ८ वटा क्लस्टर बनाएको छ । जसको परिमार्जनका लागि रिजाल नेतृत्वको ३ सदस्यीय समितिले पार्टीलाई लेखी पठाएको हो । समितिको निर्णय अनुसार, कार्यसमिति चयनका लागि २३ चैतमा मनोनयन दर्ता र २४ गते मतदान हुने भएको छ ।

दलको नेता चयनका लागि विधानमा कुनै समस्या नभए पनि कार्यसमिति चयनका लागि विधान संशोधन अनिवार्य भएकोले कांग्रेसको केन्द्रीय समिति बैठक तत्काल बस्नुपर्ने भएको छ । पूर्व सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको निधन पश्चात कांग्रेस संसदीय दलको नेताको पद रिक्त रहदै आएको छ । ०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचन पश्चात दलको नेतामा कोइरालाले देउवालाई पराजित गरेका थिए । त्यसपछि चैत महिनामा दलको कार्यसमिति चयनका लागि सांसदहरू मतदानको लाइनमा बसेको बेला नेतृत्वले स्थगित गरेको थियो ।

प्रतिक्रिया