दाहाल र जर्मन वामपन्थी पार्टी प्रतिनिधिबीच भेट

काठमाडौं, १० चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा नेपालको माओवादी आन्दोलन, संविधान निर्माण प्रक्रिया र एमाओवादीको पछिल्लो गतिविधिबारे जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले जानकारी लिएको थियो ।

अध्यक्ष दाहालले नेपाली आफँैले शान्ति प्रक्रिया र संविधान निर्माणमा उल्लेख्य भूमिका खेलेको भन्दै आगामी दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियालाई पूर्णता दिन लागिपरेको बताए उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

अध्यक्ष दाहालले भने, ‘नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा बिल्कुलै नौलो उदाहरण प्रस्तुत भएका छन् । सेना समायोजन र संविधानसभाबाट निर्माण भएको संविधान नेपाली जनताले अनुभूति गरेको नौला अनुभूति हुन् । नेपाली जनता आफैँले शान्ति प्रक्रियामा नौलो उदाहरण स्थापित गरेका छन् ।’

आफ्नो पार्टीले उठाएका सबै विषय नयाँ संविधानमा पार्न नसके पनि आधारभूतरूपमा जनताको पक्षमा संविधान लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसारको सबैभन्दा समावेशी संविधान जारी गर्न सकेकामा खुसी प्रकट गरे ।

उनले मुलुक अब आर्थिक समृद्धितिर अगाडि बढ्ने बताउँदै देश विकासका लागि जलविद्युत्, पर्यटन र कृषिलाई मुख्य जोड दिन लागेको स्पष्ट पारेका छन् । जर्मन वाम पार्टीका तर्फबाट श्रीमती हेइक हेन्ज्लले युरोपमा वाम आन्दोलनका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया