राजकुमारले लम्ब्याए भ्रमण

काठमाडौं । नेपाल सरकारको निमन्त्रणामा ६ चैतमा नेपाल भ्रमणमा आएका बेलायती राजकुमारी ह्यारीले आफ्नो भ्रमण लम्ब्याएका छन् । स्वनिर्णयमा आफ्नो भ्रमण लम्ब्याएका उनले भने, ‘नेपालको सौन्दर्य र मायाले यो मुलुक छोड्न नै गाह्रो भएको छ तर जानैपर्छ । धन्यवाद, जे भए पनि अहिलेलाई भने म अरू छ दिन व्यक्तिगत तवरले नेपालमा नै बिताउनेछु ।’ पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरेकै दिन बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड (ह्यारी)ले उक्त बाक्यांश आफ्नो मुलुकको दूतावासमा व्यक्त गरेका हुन् । उनले भूकम्प प्रभावित क्षेत्रहरूमा काम गर्नकै लागि थप छ दिन नेपाल बस्ने अभिव्यक्ति दिएका छन् ।

उनले पूर्वबेलायती सेनाको च्यारेटी संस्था टिम रुविकन युकेसँग मिलेर दुर्गमका विभिन्न जिल्लामा पुगेर काम गर्नेछन् । उनी भूकम्प प्रभावित विभिन्न जिल्लामा पुग्नेछन् । उनले आएदेखि नै भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने र त्यहाँ रहेका पीडितसँग भेटेर कुराकानी गर्दै आएका छन् । उनले बेलायती दूतावासमा बुधबार आयोजित रात्रीभोजमा नेपालमा अरु छ दिन अनौपचारिक रुपमा रहने र विभिन्न विकट क्षेत्रमा सघाउने बताए । नेपालमा गत १२ बैशाखको महाभूकम्पले पारेको असर र प्रभावमा नेपालीहरू अझै असहज अवस्थामा रहेको भन्दै उनले त्यसको लागि काम गर्न पाउदा केही मलम लगाएजस्तो अनुभूति गर्ने भन्दै यसकै लागि आफू रहन लागेको बताए । (सौस)

प्रतिक्रिया