राजकुमारको होली

harry_holiलमजुङ, ९ चैत । गोर्खा वेल्फेयर स्किमले पुनर्निमाण गरिरहेको गौंडा माविको अवलोकनका लागि पुगेका बेलायती राजकुमारले ह्यारी मंगलबार विद्यार्थी र अभिभावक एवं शिक्षकसँग होली खेलेका छन् । स्कुलको अवलोकन लगत्तै विद्यार्थीसँग भलिबल खेलेका राजकुमार ह्यारी त्यसपछि होलीको रङमा रमाएका थिए । आफू नेतृत्व टिमलाई भलिबलमा जिताएपछि उत्साहित ह्यारीले स्थानीयसँग अबिर घसाघस गरेका थिए । अञ्जु, महिमा, र प्रतिमाले ह्यारीलाई दुवै हातले दुवै गालामा अबिर घसिदिएका थिए । लगत्तै उनले आफू पनि के कम भन्ने शैलीमा ती युवतीहरूले नै ल्याएको अबिर झिकेर उनीहरूको गाला रातै पारिदिए । त्यसपछि राजकुमार ह्यारीले पूर्वगोर्खा सैनिक र अभिभावकसँग होली खेले । आफैँ अघि सरेर अरूलाई अबिर घस्न तस्मिएका राजकुमारलाई रङ लगाइदिने र उनीसँग फोटो खिच्ने माहौल केहीबेर चलिरह्यो ।

भलिबलमा ब्रिटिस–गोर्खा नेपाल टिमबाट ह्यारीले भलिबल प्रतिस्पर्धा गरेका थिए भने अर्काे टिम गोर्खा वेल्यफेयर स्किमको थियो । ‘बेस्ट अफ वान’को आधारमा भएको प्रतिस्पर्धामा ह्यारीको टिमले १९ विरुद्ध २५ स्कोरले बाजी मारेको थियो । सोमबार रात बिताएको लेउरानी गाउँबाट १ घन्टाको पैदल यात्रापछि ओखरी गाउँको स्कुल पुगेका ह्यारी त्यहाँ भलिबल र होलीमा रमेपछि साढे १० बजे हेलिकोप्टरमार्फत पोखरा उडेका थिए ।

प्रतिक्रिया