नेपाली भूभाग डुबानको खतरामा

10 gajama roadनेपालगञ्ज, ८ चैत । बाँकेको दक्षिणी सीमावर्ती क्षेत्रमा भारतले दशगजासँगै जोडेर निर्माण गरेको सडकलाई कालोपत्रे गर्न थालेको छ । सडकको नाममा भारतले बाँध निर्माण गरेकोले नेपालबाट भारत बग्ने पानीको निकाश रोकिएर नेपाली भूभाग डुबानमा पर्ने खतरा देखिएको छ । यसका लागि स्थानीयवासीले सरकारको ध्यानाकर्षण गराउँदै भारतलाई तत्काल बाँध निर्माण रोक्न आग्रह गर्दै आएका छन् ।

सडक बाँधले पानीको निकाश रोकिएर वर्षामा नेपाली भूभाग डुबानमा पर्ने जनाउँदै सडक बाँधमा पानीको प्राकृतिक बहावको निकासका लागि कल्भर्ड र पुलहरू समेत निर्माणका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका छन् । भारतले एकतर्फी रूपमा सडकबाँध निर्माण गरी कालोपत्रे गरिरहेको स्थानीयले बताएका छन् ।

भारतले निर्माण गरेको सडकबाँधले नेपाली भूभाग डुबानमा पर्ने भन्दै बाँकेका सभासद्देखि प्रधानमन्त्रीको पटकपटक ध्यानाकर्णण गराए पनि कुनै सुनुवाई नभएको हिरमुनियाका स्थानीय राजेन्द्र बर्माले बताए । पानीको निकासका लागि आवश्यक संख्यामा पुल तथा कल्भर्ड निर्माण नगरी भारत सरकारले दशगजा क्षेत्र नजिकैबाट ३० मिटर चौडा र ३ मिटर अग्लो सडकबाँध निर्माण गर्दै आएको छ ।

भारतले दशगजा क्षेत्र नजिकैबाट बाँकेको पश्चिम सीमा मानखोलादेखि पूर्वी सीमाना सुइया बघौडासम्मको सडक भारतले निर्माण गरि धमाधम सडक कालोपत्रे गरिरहेको छ ।

सडकबाँध निर्माणका कारण बाँकेको सीमावर्ती क्षेत्रका हिरमिनिया, सीतापुर, राधापुर, मटेहिया, नरैनापुरलगायतका दर्जनौँ गाउँहरू डुबानको उच्च जोखिममा परेका छन् । बाँकेको करिब १ सय ५० किलोमिटर क्षेत्र भारतको उत्तर प्रदेशसँग जोडिएको छ ।

प्रतिक्रिया