दुईतिर जागिर खाने शिक्षक बर्खास्त

भद्रपुर । एउटै समयमा दुईतिर जागिर खाने झापाका ३ जना शिक्षकलाई बर्खास्त गरिएको छ । भद्रपुर उच्चमाध्यमिक विद्यालय र महेशपुरको अरनिको उच्चमाविमा कार्यरत शिक्षकको नियुक्ति बदर गर्दै ३ जना शिक्षकलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए ।

जागिरबाट बर्खास्त भएका शिक्षकमा भद्रपुर उच्चमाविका सागर दाहाल, चैतन्यप्रसाद खरेल र अरनिको उच्चमाविका सिर्जना शर्मा रहेका छन् । उनीहरूले एउटै समयमा २ तिर हाजिरी गरेर काम गरेको छानबिनका क्रममा फेला परेको पाइएपछि उनीहरूलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए ।

झापामा ६२ वटा उच्चमावि रहेका छन् । ती उच्चमावि शिक्षक अनुदान कोटाअन्तर्गत १ सय २४ जना शिक्षक नियुक्त शिक्षकमध्ये ३ जना शिक्षकले एकै समयमा २ तिर हाजिर गरेर काम गरेको पाइएपछि उनीहरूलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए । झापामा उमाविको शिक्षक नियुक्तिमा अनियमितता भएको सूचनाका आधारमा जिशिअ लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले ती उमाविका कागजपत्र नियन्त्रणमा लिई छानबिन गरिएको थियो ।

नियुक्ति पाएको मितिबाटै उनीहरू अन्यत्र कार्यरत रहेको पाइएको र २ तिरै हाजिर भेटिएको शिक्षा कार्यालयले जनाएको छ । खरेल ३÷४ वर्षदेखि भद्रपुरको एमरल्ड एकाडेमीमा समेत कार्यरत छन् । दाहाल भने अरू नै संस्थामा कार्यरत रहेको जनाइएको छ । अरनिको उनी बिर्तामोडस्थित बुद्ध स्मृति बोर्डिङ स्कूलमा कार्यरत रहेको समेत पाइएको छ ।

ती उच्चमाविले उनीहरूलाई नियुक्त गरेर औपचारिक प्रक्रिया पूरा गरेको देखिए पनि अरूलाई नै काममा लगाउने र तलब खुवाउने नियत देखिएको शिक्षा कार्यालयले जनाएको छ । ‘तीनैजना शिक्षकलाई नियुक्त भएको मितिबाटै लागू हुनेगरी बर्खास्त गरिएको छ’, जिशिअ लुइँटेलले भने । (सौस)

प्रतिक्रिया