भूकम्पपीडितलाई घर आँगनमै सुविधा

चौतारा, ७ चैत । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रका भूकम्पपीडित जनताले घर आँगनबाट विभिन्न सरकारी सेवा प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्थित सबै कार्यालय सम्मिलित २ दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो । २ दिनको बाटो आवतजावत गरेर सदरमुकामबाट सेवा प्राप्त गर्न कठिनाइ भएको महसुस गर्दै थाङ्पालधाप, गुन्सा, भोटेनाम्लाङ, भोताङ र थाङपालकोटसहित ५ गाविसका बासिन्दालाई सुविधा पुग्ने गरी शिविरको आयोजना गरिएको प्रजिअ गोकर्णमणि दुवाडीले बताए ।

शिविरमा थाङ्पालकोट गाविसकी ८६ वर्षीया दावावुटी लामासहित ४ सय २८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण तथा नेपाली सेनाको गोरखबहादुर गण र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा ४ सय ६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

त्यस्तै जिल्ला आयुर्वेद केन्द्रबाट ३ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । महिला विकास कार्यालयबाट ९८ ज्येष्ठ नागरिक र ७५ विकलांगलाई परिचयपत्र प्रदान गरिएको थियो । सो अवसरमा जिल्ला निर्वाचन कार्यालयबाट ४ सय ९७ जनाको तस्बिरसहितको मतदाता नामावली, ५ सय २ कृषकलाई बिउबिजन वितरण, ४५ जनालाई नापीसम्बन्धी र ६ सय ३७ जनालाई जिल्ला प्रहरी कार्यालयले परामर्श दिएको थियो ।

जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट १३ पसल र ४ होटेल तथा मिल दर्ता, १ उद्योग नवीकरण र २५ उद्योगलाई परामर्श प्रदान गरी विभिन्न उद्योगबाट ६७ हजार ३ सय रुपैयाँ राजस्व असुली गरिएको छ ।

थाङपाल्कोट गाविसको रैथानमा केन्द्र कायम गरी आयोजित शिविरमा जिल्ला शिक्षा कार्यालयबाट ६ विद्यालयलाई शैक्षिक सामग्री वितरणका साथै ४ विद्यालयको अनुगमन गरिएको थियो । मालपोत कार्यालयबाट १ सय २५ जनाको तस्बिर टाँससहितको जग्गाधनी पुर्जा, १ जनाको नामसारी तथा सनाखत र ३ सय जनालाई सूचनामूलक सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी पशुसेवा कार्यालयबाट ३ सय ५८ कृषकका १ हजार ८ सय १२ पशुलाई निःशुल्क औषधि तथा १ सय केजी घाँसका बीउ वितरण गरिनाका साथै जिल्ला हुलाक सेवा कार्यालयबाट ५ सय ५० थान हुलाक टिकट बिक्री वितरण गरिएको टोलीमा सहभागी स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया