अर्को चैतमा महाधिवेशन : दाहाल

prachanda_dahal copyकाठमाडौं, ७ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १ वर्षभित्र पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । साथै केन्द्रीय समितिमा रिक्त पदहरू पूर्तिका लागि वर्षमान पुनको संयोजकत्वमा कार्यदल बनाउने दाहालको प्रस्ताव छ ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा दाहालले अर्को वर्षको चैत मसान्तभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । दाहालले अर्को चैत मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका पेस गरेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार दाहालले देशभरिका सबै गाविस र नगरपालिकाको वडा तहमा आगामी १ जेठदेखि ७ सम्म भेला सम्पन्न गर्ने प्रस्ताव पेस गरेका छन् । त्यसैगरी १० जेठदेखि २० सम्म गाउँपालिका र नगरपालिकाको सम्मेलन हुनेछ । असार मसान्तसम्म जिल्लासम्मेलनहरू हुनेछन् । भदौ मसान्तसम्म प्रदेश तहको भेला सम्पन्न गर्ने दाहालको प्रस्ताव छ । जेठमा वडास्तरको भेला बोलाउनुपूर्व सदस्यता वितरण र नवीकरणका लागि वैशाख मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

यसैबीच एमाओवादीले डा.बाबुराम भट्टराईलगायत नयाँशक्तिमा लागेका २ दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूको ठाउँमा पदपूर्तिका लागि गहकार्य गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन् ।

कार्यदलले एक महिनाभित्र दिने सुझावसहितको प्रतिवेदनका आधारमा केन्द्रीय समितिलाई पूर्णता दिने दाहालको प्रस्ताव छ । तर, उनले पूर्वसभासद् धर्मशीला चापागाईं र एकसाता पहिले राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष पद त्यागेर एमाओवादी प्रवेश गरेका वीरबहादुर गोलेलाई भने यही बैठकबाट केन्द्रीय समितिमा मनोनयन गर्ने प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्तावमाथि आइतबार केही केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया