सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन

Forest copy

बर्दिया, ४ चैत । बर्दियाका ४ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ । वैज्ञानिक वन व्यवस्थापन सुरु गर्न लागिएका सामुदायिक वनहरूमा ढोढरी –२ को देउराली फूलबारी सामुदायिक बन, बानियाभार–४ को जनचेतना सामुदायिक वन र धधबार–६ को जनकल्याण सामुदायिक वनमा प्राविधिक काम भइरहेको छ । अर्को एकसामुदायिक वन छनोटको चरणमा रहेको जिल्ला वन कार्यालय बर्दियाले जनाएको छ ।

वैज्ञानिक वन व्यवस्थापन पद्दतिबाट वनको हैसियतमा सुधार ल्याई वनको उत्पादन क्षमता वृद्धिका नेपाल सरकारको वन विभागको स्वीकृत कार्यक्रम अनुसार जिल्ला वन कार्यालय बर्दियाले वैज्ञानिक वन व्यवस्थापन सुरु गर्न लागेको सहायक वन अधिकृत टंक गुरुङले जानकारी दिए । उनी भन्छन्, ‘सामुदायिक वनका उपभोक्ताहरूको सक्रियतामा वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । बर्दियाका ४ वटा सामुदायिक बनको कम्तीमा ८ सय हेक्टरमा यो कार्यक्रम सुरु हँुदै छ ।’

वैज्ञानिक वन व्यवस्थापनका लागि २ सय हेक्टरभन्दा बढी क्षेत्रफल आवश्यक पर्ने र ८० वर्षे चक्र प्रणाली अपनाइन्छ । जसअनुसार सामुदायिक वन उपभोक्ता समितिले ८० वर्षे चक्रका आधारमा पहिलो खण्डमा १० वर्षे कार्ययोजनासहित काम गर्दछन् । ढोढरी गाविसको देउरानी फूलबारी सामुदायिक वनको जम्मा ३०१ दशमवलव ७१ हेक्टर क्षेत्रफल मध्ये पहिलो चरणमा १० वर्षे कार्यक्रमअन्तर्गत ४० हेक्टरमा यो कार्यक्रम सुरु गरिने बताइएको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि वनको स्थलगत अध्ययन, रुखको गणना र नम्बरिङ गर्ने काम सकिएको सामुदायिक बन उपभोक्त समूहका अध्यक्ष गुलाबलाल थारूले बताए । उनले ४० हेक्टरमा १ हजार ८ हजार ८८ रुखहरू रहेको र सबैभन्दा बढी सालको रुख रहेको जानकारी दिए । उक्त वनका २ सय ६८ घरधुरी उपभोक्ता रहेका छन् ।

उपभोक्ताको समस्या पनि हल हुने र वैज्ञानिक तरिकाले वनको पनि संरक्षण तथा व्यवस्थापन हुने भएकाले उपभोक्ताहरूको लामो छलफल र बहसबाट वैज्ञानिक वन व्यवस्थापन आफ्नो सामुदायिक वनमा सुरु गर्न लागेको धधबार–६ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र विष्टले जानकारी दिए ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पुराना काम नलाग्ने रुखहरू कटान गरी नयाँ रुख रोप्ने र त्यसलाई संरक्षण गर्न उक्त क्षेत्रमा तारबारकोे व्यवस्थासमेत गरिने वैज्ञानिक वन व्यवस्थापनका प्राविधिक भरत पोखरेलले बताए ।

प्रतिक्रिया