संस्कृति बन्दै बालविवाह

bal-bibaha4म्याग्दीको चिमखोला–६ की १५ वर्षीया गीता विकले जतिबेला आफ्नो विवाह भएको थाहा पाइन् त्यतिबेला उनी आफ्नै फुपूको घरमा दुलही बनेर भित्रिइसकेकी थिइन् । ‘घर जाऊँ भनेर फुपूको छोराले फकाएर लगे, फुपूको घर जान बुबाआमाले पनि रोक्नुभएन,’ गीताले ३ महिनाअघिको घटना सम्झिइन्, ‘
फुपूकोमा गएको केही दिनमा बल्ल थाहा पाएँ म त्यहाँ भतिजी होइन बुहारी बनेर गएकी रहेछु ।’

आरन पेसा गर्दै आएका गीताका बुबा र आमाको सहमतिमा छिमेकी गाविस पाखापानी घर भएका फुपूका छोराले विवाह गर्न आफ्नो घर लगेका थिए । फुपूका २४ वर्षीय छोराले गर्ने व्यवहारबाट आफ्नो विवाह भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भएको गीताले सुनाइन् ।

२३ दिनसम्म फुपूको घरमा बसेपछि उनले त्यहाँको व्यवहार ठीक नलागेपछि आफ्नै घर फर्कने निधो गरिन् । अमर माविको कक्षा ६ मा अध्ययनरत गीताले अहिले पढाइलाई निरन्तरता दिइरहेकी छिन् । ‘सर मिसले सहयोग गर्नुभएको छ, माया गर्नुहुन्छ,’ गीताले भनिन्, ‘विगतमा जे जस्तो भए पनि अब पढाइलाई निरन्तरता दिन्छु ।’

मामाको छोरी र फुपूको छोराबीच हुने मागी विवाह संस्कारलाई चुनौती दिएकी गीताको कथाजस्तै लाग्ने संघर्षको भोगाइभन्दा दर्दनाक पीडा छ उत्तरी क्षेत्र दाना–९ की १८ वर्षीया अञ्जली गर्बुजाको । गरिबीका कारण घरमा बुबाआमाले पढाउन सक्ने अवस्था नभएपछि शिख पाउद्वार माइत भएकी उनले ३ वर्षअघि दानाका मीनकुमार गर्बुजासँग लगनगाँठो कसेकी थिइन् ।

१५ वर्षको उमेरमा विवाह गरेकी गर्बुजा १६ वर्षको कलिलो उमेरमा आमा बन्नुप¥यो । कक्षा ८ पढ्दा विवाह गरेकी गर्बुजा १० कक्षामा भर्ना भइन् तर प्रवेशिका परीक्षामा सहभागी हुन पाइनन् आमा बनिसकेका कारण । पढाइले १० कक्षामा पूर्णविराम लाग्यो । शिक्षा हासिल गर्ने अधिकार कुण्ठित भएपछि भविष्यको बाटोमा ठेस लागेको नमीठो अनुभव अञ्जलीलाई भयो ।

‘भनेजस्तो नभए पनि पारिवारिक सम्बन्ध राम्रो छ, भावी सन्तानलाई हामीले जस्तो दुःख भोग्न दिने छैनौँ,’ अञ्जली भन्छिन्, ‘विवाहपछि पढाइलाई निरन्तरता दिन धेरै कठिन छ ।’ कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने÷गराउने कार्यलाई अपराध मानेको छ । आधारभूत तहसम्मको शिक्षालाई सरकारले निःशुल्क घोषणा गरेको छ । तर, समाजमा न त बालविवाह रोकिएको छ, न सबैले आधारभूत तहको शिक्षा नै पाएको अवस्था छ ।

यस्तो अवस्था आउनुको पछाडि चेतना, शिक्षाको कमी, गरिबी र परम्परागत गलत संस्कार प्रमुख कारण रहेको अमर मावि चिमखोलाकी शिक्षिका पोमाया पुनको ठम्याइ छ । ‘मामाको छोरी र फुपूको छोराबीच विवाह गर्ने चलन छ, आफन्तभित्रै विवाह गर्दा सजिलो हुने बुझाइले गर्दा माइती कुटुम्बको नातालाई निरन्तरता दिन अभिभावक सहमत भइसकेपछि छोरीचेलीले नाइँ भन्न सक्दैनन्,’ शिक्षिका पुनले भनिन्, ‘जसले गर्दा मन नभएर पनि अभिभावकले दिएको व्यक्तिसँग विवाह गर्नुपर्ने किशोरीको बाध्यता छ ।’

अभिभावकमा नातामा विवाह गर्दा भविष्यमा जन्मने बालबालिकामा पर्ने असर, कानुनी व्यवस्था, महिला तथा बालबालिकाको अधिकार र बालविवाहले निम्त्याउने दुष्परिणामबारे अधिकांशलाई ज्ञान छैन । परिवारको कमजोर आर्थिक अवस्था र गरिबीका कारणले पनि बालविवाह हुने गरेको छ ।

विपन्न समुदायका अभिभावक छोराछोरीलाई पढाउनुभन्दा विवाह गरिदिँदा आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । बिहे गरिदिएपछि आफ्नो जीवन आफैँ चलाउँछन र झन्झटबाट मुक्त भइन्छ भन्ने मान्यता छ । गरिबी र अभावमा गुज्रिएको ग्रामीण समाजमा जस्तै शिक्षित भनिएको सहरी र सम्पन्न समुदाय पनि बालविवाहबाट मुक्त छैन ।

गाउँघरमा बाध्यताले बालविवाह हुन्छ भने सहरी क्षेत्रमा सूचना प्रविधिको दुरुपयोग, अभिभावकको बेवास्ता र गलत संगतका कारण रहरले सानैमा दुलहादुलही बन्नेहरू भेटिन्छन् । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालको सहयोगले प्रेम सम्बन्ध स्थापित गरेर शारीरिक सम्पर्क हुँदै विवाह गर्नुअगावै बुबाआमा बन्ने विकृति सामाजिक समस्याकै रूपमा देखिएको छ ।

कम उमेरमा हुने विवाहले आफू, परिवार र समाजलाई विविध समस्या थपिदिन्छ । उनीहरू शारीरिक, मानसिक र संवेगात्मक हिसाबले परिपक्व हँुदैनन् । छोटो समयको माया प्रेम र बाध्यतामा परेर विवाह गरेका दम्पतीको सम्बन्ध रसिलो, कसिलो र दिगो बनेको कमै मात्र उदाहरण छन् । उमेर नपुग्दै विवाह गरेपछि पारिवारिक जिम्मेवारी बढ्दै जाँदा एक अर्कामा अविश्वास सिर्जना भई अलग हुने बाटो रोज्ने थुप्रै किशोरकिशोरी भेटिन्छन् ।

पछिल्लो समय सम्बन्ध विच्छेद गर्न आउनेमा सानै उमेरमा विवाह गरेका बढी हुने गरेको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार गोकर्णराज पन्त बताउँछन् । जिल्ला अदालतमा आर्थिक वर्ष ०७१÷७२ मा १ सय १३ थान सम्बन्ध विच्छेदका मुद्दा परेकामा १ सय ७ वटाको फैसला भएको थियो । चालु आवको पुस महिनासम्ममा ३१ जनाले मिलापत्रको माध्यमबाट (फास्ट ट्र्याक) विधि अपनाएर सम्बन्धविच्छेद गरेको अदालतको तथ्यांक छ ।

प्रहरी र अदालतमा बालविवाहसम्बन्धी मुद्दा परेको भने भेटिँदैन । यदाकदा अन्तरजातीय विवाह भएको र केटा अथवा केटी पक्षले नचाहेको व्यक्तिलाई बुहारी वा ज्वाइँका रूपमा स्वीकार गर्न नसकेको अवस्थामा मात्रै बालविवाहको उजुरी पर्छ । धेरैजसो यस्ता मुद्दा सहमतिमा मिलापत्र गरेर टुंग्याइने गरिएको छ ।

बालविवाहले किशोर किशोरीको शिक्षामा पनि नकारात्मक असर पारेको छ । विद्यालय, १० जोड २ तहमा अध्ययनरत धेरैले विवाहपछि शिक्षालाई निरन्तरता दिन सकेका छैनन् । किशोर पारिवारिक समस्या र घरव्यवहार चलाउन रोजगारीका लागि विदेसिने तथा किशोरी आमा बन्ने र घरधन्दा सम्हालेर बस्ने गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार २०७१ को प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागिताका लागि आवेदन फाराम भरेकामध्ये पढाइ छाडेका र ७५ प्रतिशत हाजिरी नभएका कारण ६६ जना विद्यार्थी परीक्षामा बस्न अयोग्य भए । पढाइ छाड्नु र नियमित कक्षामा हाजिर नहुनाका पछाडिएको एउटा कारण विद्यालय पढ्ने उमेरमा हुने विवाह भएको विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले बताए ।

कम उमेरमा हुने विवाहको सबैभन्दा धेरै असर महिलाको स्वास्थ्यमा देखिएको छ । म्याग्दीमा ३० प्रतिशत जति गर्भवती महिला २० वर्षभन्दा कम उमेरका हुनेगरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कम उमेरमै आमा बन्नु स्वास्थ्यका दृष्टिकोणले आमा र बच्चा दुवैका लागि प्रतिकूल हो । छिटो बच्चा जन्मिने डर हुने, पाठेघर खस्ने, शरीर कमजोर हुने, औसत आयुमा असर पर्ने, बच्चामा कुपोषण र अपांगता हुनेजस्ता समस्या देखिने जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए ।

आव ०७१÷७२ मा २ हजार ३ सय ७ जना गर्भवतीमध्ये ६ सय ५२ जना २० वर्षभन्दा कम उमेरका थिए । चालु आव ०७२÷७३ को पहिलो ४ महिनामा ५ सय १८ जना गर्भवतीमध्ये १ सय ४३ जना २० वर्षभन्दा कम उमेरका छन् । २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या पछिल्लो केही वर्षयता घट्दै गएको देखिए पनि सन्तोषजनक अवस्था भने नरहेको जनस्वास्थ्य अधिकृत चौधरीले बताए ।

२० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या आव ०७०÷७१ मा ३२ र ०६९÷७० मा ३८ प्रतिशत थियो । बालविवाह र त्यसको असरले समाजमा विभिन्न समस्या उत्पन्न गरे पनि न्यूनीकरणका लागि प्रभावकारी काम भएको देखिँदैन । सम्बद्ध सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाले तालिम, गोष्ठी र सहर केन्द्रित कार्यक्रम गर्दा दुर्गम तथा ग्रामीण क्षेत्रमा बालविवाहविरुद्ध सन्देश प्रवाह हुन सकेको छैन ।

केही गाविसमा गठन भएको युवा महिला संस्था र विद्यालयका बालक्लब बालविवाहविरोधी अभियानमा सक्रिय बने पनि उनीहरूले साथ, सहयोग पाएका छैनन् । बालविवाह न्यूनीकरणका लागि किशोर किशोरीलाई परामर्शको माध्यमबाट सचेत पार्ने, अभिभावकलाई बालअधिकार र बालविवाहविरुद्ध बनेका कानुनबारे जानकारी दिने तथा विद्यालय र समाजलाई किशोरी मैत्री बनाउनुपर्ने युवा महिला संस्था जिल्ला सञ्जालका सचिव लक्ष्मी बिक बताउँछिन् ।

सञ्जालअन्तर्गत म्याग्दीको दरवाङ, रुम, ओखरबोट, अर्मन, ताकम, देवीस्थान, मुदी, दाना, बेग, पात्लेखेत, चिमखोला, रत्नेचौर, कुइनेमंगले, दग्नामलगायत गाविसका किशोरीलाई युवा महिला संस्थामा आबद्ध गराइएको छ । संस्थामा आबद्ध किशोरीलाई बालविवाह नगर्न सुझाव र परामर्श दिने गरिन्छ ।

प्रतिक्रिया