संक्षेप

अस्पताल निर्माण कार्य सुरु
रसुवा । भूकम्पपछि क्षतिग्रस्त जिल्ला अस्पताल व्यवस्थित तरिकाले सञ्चालन गराउन निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार क्यानडियन रेडक्रसको सहयोगमा रसुवा रेडक्रसले प्रिफेबमोडेलबाट १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।

रेडक्रसले उक्त प्रिफेबमोडेलको भवन आगामी वर्षको पुस मसान्तसम्म बनाइ सकिने बताएको छ । सभापति तामाङले भने, ‘४३ हजार रसुवालीको साझा अस्पताल व्यवस्थित गरिनेछ ।’ गत १२ वैशाखको भूकम्पले जिल्ला अस्पताल भत्काएपछि क्यानडियन रेडक्रसले नै टेन्टको माध्यमबाट सेवा सुचारु गराउन सहयोग गदै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । २५ वर्षसम्म बलियो र टिकाउ हुने प्रिफेब मोडेलको संरचना बनेपछि जिल्ला अस्पताल धुन्चेमा प्रभावकारी तवरले स्वास्थ्य सेवा दिन सकिने डा. विवेककुमार लालले जानकारी दिए । (सौस)

सर्वदलीय नियमन आवश्यक
दाङ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालित विकास योजनाको प्रभावकारी अनुगमन नहुँदा त्यस्ता योजनाले पूर्णता पाउन नसकेको बताएकी छन् । योजना लिनका लागि हानथाप गर्ने तर कार्यान्वयनमा गम्भिरता नदेखिने समस्याका कारण विकासले गति लिन नसकेको मन्त्री शर्माले भनाइ छ ।

दाङबाट सञ्चालनमा ल्याइएको पहिलोपेज अनलाइनको आज घोराहीमा उद्घाटन गरेपछि मन्त्री शर्माले योजनाको गुणस्तरीय कार्यान्वयन गर्न सर्वदलीय नियमन समिति बनाउनुपर्ने बताइन् । उनले सबैको एकता र सहकार्यबाट मात्रै विकास सम्भव हुने भएकाले स्थानीयस्तरमा एकता आवश्यक भएको बताइन् । मन्त्री शर्माले सञ्चारमाध्यमको वृद्धि विकाससँगै विश्वासिलो पत्रकारिताको खाँचो रहेको बताइन् । (सौस)

विद्यालयको पुनर्निर्माण तीन वर्षभित्र
पोखरा । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले ध्वस्त बनेका ९ हजार विद्यालयको पुनर्निर्माण आगामी ३ वर्षभित्रमा गरिसक्ने बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भूकम्प पुनर्निर्माण प्राधिकरणले त्यसको गृहकार्य सुरु गरिसकेको बताए ।

आगामी वैशाखको दोस्रो साताभित्रमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याइसकिने बताउँदै उनले पुस्तक छाप्ने काम जनकशिक्षा सामग्री केन्द्रबाट भइरहेको जानकारी गराए । पुस्तक छपाइकार्य मधेस आन्दोलनका कारण समयमै कागज आउन नसक्दा प्रभावित बनेको उनको भनाइ छ । भूकम्प र मधेस आन्दोलनका कारण शैक्षिक वर्षमा पूरा पढाउनुपर्ने दिनमा पढाइ हुन नसकेको बताउँदै उनले यसवर्ष एसएलसी दिने विद्यार्थीका लागि सूचना प्रविधिको प्रयोगमार्फत वैकल्पिक रूपमा पढ्ने अवसर उपलब्ध गराइएको उल्लेख गरे । (सौस)

रेडियो गोरखा पाँच लाख सहयोग
गोरखा । जर्मनीको मेड जर्मन नामक संस्थाले गोरखाको सामुदायिक रेडियो ‘रेडियो गोरखा’लाई ५ लाख रुपियाँ सहयोग गरेको छ । नेपाल मेड नामक संस्थासँगको समन्वयमा सो संस्थाले भूकम्पपछिका ७ महिनासम्म टेन्टमा सञ्चालनमा रहेको रेडियोको पूर्वाधार विकासका लागि सहयोग गरेको हो ।

रेडियोमा बुधबार आयोजित कार्यक्रममा मेड नेपालका प्रतिनिधि बाबुराम गिरीले ५ लाखको चेक रेडियोको सञ्चालक संस्था गोरखा विकास तथा सञ्चार केन्द्रका अध्यक्ष ईश्वरकाजी मास्केलाई प्रदान गरे । हाल एक निजी घरबाट सञ्चालन भइरहेको रेडियो गोरखाले २५ लाख रुपियाँ लगानी गरेर नयाँ भवन निर्माण गरिरहेको छ । (सौस)

प्रतिक्रिया