नाका खोल्न माग गर्दै ओलाङ्चुङगोलावासी

ताप्लेजुुङ, ३० फागुन । ताप्लेजुङको उत्तरी सीमावर्ती ओलाङ्चुङगोलाका बासिन्दाले तिब्बत–ओलाङ्चुङगोला नाका खोल्न सरकारसँग माग गरेका छन् । चैतको पहिलो साता हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग तिब्बत–लाङ्चुङगोला नाका खुलाउन पहल गर्नुपर्ने माग गरेका हुन् ।

३ दिनको पैदल यात्रा गरी सदरमुकाम फुङ्लिङ आइपुगेका ओलाङ्चुङगोलाबासीले ताप्लेजुङ क्षेत्र नं. २ का सांसद डम्बरध्वोज तुम्बाहाम्फेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । ओलाङ्चुङगोलाका स्थानीय छेतेनटासी शेर्पाको नेतृत्वमा आएको टोलीले ज्ञापनपत्रमार्फत नाका सञ्चालनका लागि तिब्बत–गोला जोड्ने मोटरबाटो निर्माणलाई प्राथमिकता दिन पनि माग गरेका छन् ।

प्रधानमन्त्री ओलीसमक्ष पुग्नेगरी ज्ञापनपत्र सांसद तुम्बाहाम्फेलाई बुझाउँदै सदियौँदेखि तिब्बतसँगको सीमाको संरक्षण हामी गोलाबासीले गर्दै आएको तथा अब सीमा तथा सिंगो गोलाबासीको नै संरक्षण गर्ने जिम्मा सरकारको भएको उनीहरूले बताएका छन् । गोलाबासीले नेपाल र चीनको सिमाना टिपताला भञ्ज्याङदेखि ओलाङ्चुुङगोलासम्मको दुरी १९ किलोमिटरमध्ये स्थानीय आपैmँले २ किलोमिटर मोटरबाटो खनेको स्मरण गर्दै हालको प्रविधिको युुगमा मुढे बलको प्रयास सम्भव नहुने देखेपछि सरकारको गुहार मागेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

दुुर्गमका बासिन्दाको एक मात्र चाहना सरकारले तिब्बतसँगको नाका मोटरबाटो जोडीदिओस् भन्ने रहेको सडक अभावकै कारण दुर्गम गोलाबासीको दैनिकी अझै कष्टकर बन्दै गएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । पत्रमा सरकारले टिपताला भञ्ज्याङ हुँदै तिब्बतसंँगको सडक सञ्जाल निर्माणका लागि प्राथामिकता दिने हो भने ओलाङ्चुुङगोलामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका व्यवसायीले सरकारसँग सहकार्य गर्ने पनि जनाएका छन् ।

यस्तै सदरमुकाम फुुङ्लिङ–थिवा–गोला–टिपताला हुँदै तिब्बतको रिउ बजारसम्म सडक सञ्जाल जोडिएमा नेपाल–तिब्बत जोड्ने सबैभन्दा छोटो मार्ग हुनेभन्दै ज्ञापनपत्रमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा यो सडक निर्माणको औपचारिक सम्झौता गर्नसमेत माग गरिएको छ । सडक मार्ग अभावकै कारण हालसम्म ढाकर र याकलाई भारी बोकाएर महँगो ढुवानी मूल्यमा सामान आयात गरी दैनिकी गुजार्न गाह्रो भइरहेको उनीहरूले बताएका छन् । यहिकारण पछिल्लो २ वर्षमा गोलाबाट २२ परिवार विस्थापित भइसकेका पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ओलाङ्चुङगोलामा हाल भोटे र शेर्पा समुुदायका ६१ परिवार मात्र बसोबास गर्दै आएका छन् । यता उत्तर–दक्षिण ओलाङ्चुुङगोला लोकमार्ग आयोजनाका अनुसार फुुङ्लिङबाट गोलासम्मको कुल ९२ किलोमिटर दुरीमध्ये हालसम्म लिङ्खिमको थिवा बजारसम्म ४१ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । गोलादेखि उता तिब्बतको सिमाना टिपताला भञ्ज्याङसम्म १९ किलोमिटर दुरी रहेको छ । पहिलेदेखि नै ओलाङ्चुङगोला र लेलेपको माथिल्लो क्षेत्रका बासिन्दाको दैनिकी रिउ बजारमै निर्भर रहँदै आएको छ ।

प्रतिक्रिया