चल्न थाल्यो हाइटेक मेट्रोबस

metro busकाठमाडौं, ३० फागुन । आइतबारदेखि राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्न थालेका छन् । महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ ।
यसले सेवा दिन थालेपछि सार्वजनिक यातायालते नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रालिको छ । आजबाट राजधानीमा ३९ वटा मेट्रोबस पहिलो चरणमा सञ्चालनमा आउने बताइएको छ । महानगर यातायातले स्वयम्भू यातायात समितिसँग मिलेर रिङरोडमा स्तरीय बस सञ्चालन गर्न लागेको हो । ‘पहिलो चरणमा ३९ बसबाट रिङरोडमा सेवा सुरु गर्छौं,’ उपाध्यक्ष सन्तोष खतिवडाले भने, ‘यात्रुको फिडब्याक अनुसार दोस्रो चरणमा रिङरोडभित्र पनि सेवा सञ्चालन गर्ने योजना छ ।’ महानगर यातायात सञ्चालनका लागि सिभिल बैंकले फाइनान्सिङ गरेको उनले जानकारी दिए ।
टाटाको प्रिमियम ब्रान्ड अल्ट्रा बसमा ३२ सिट रहेका छन् भने बसको बीचमा हाइड्रोलिक ढोका राखिएको छ । ४ फिटको ढोकामा पाटेसन रहेको बताउँदै उपाध्यक्ष खतिवडाले भने, ‘ढोकाको एउटा भागबाट यात्रुहरू बसमा चढ्न सक्नेछन् भने अर्को भागबाट झर्नेछन् । यो गाडीले १ पटकमा ७० जना यात्रु बोक्न सक्नेछ । ३२ जनाले सीटमा बसेर यात्रा गर्न सक्नेछन् भने बाँकी यात्रुका लागि सिलिङमा ‘स्ट्राइक’ समातेर उभिने व्यवस्था गरिएको छ । गाडी ठूलो भएको हुँदा कोचिनुपर्ने अवस्था नरहने खतिवडाको दाबी छ ।

प्रतिक्रिया