सुरु हुन सकेन पुनर्निर्माण

दोलखा, ३० फागुन । वैशाखको भूकम्पपछि क्षतिग्रस्त भएका सर्वसाधारणको घर पुनर्निर्माण शुभारम्भ कार्यक्रममा दोलखाका स्थानीयबासीले अवरोध गरेका छन् । दोलखाको सिंगटी बजारबाट थाल्न लागिएको पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण अभियानमा स्थानीयबासी र रजानीतिक दलले अवरोध गरेका हुन् ।

प्राधिकरणका प्रमुख सुशील ज्ञवालीसहितको टोलीले लामीडाँडा–६ र लादु्रक–८ का १०÷१० परिवारलाई घर बनाउने पहिलो किस्ताको रकमको सम्झौता गर्ने कार्यक्रम थियो । प्राधिकरणले तथ्यांक विभागले संकलन गरेको तथ्यांकका आधारमा रकम बाँड्ने तयारी गरेपछि स्थानीयले भने परिचयपत्रका आधारमा बाँडिनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

प्राधिकरणले राजनीतिक दलहरूलाई उपेक्षा गरेर एकलौटी कार्यक्रम गर्न खोजेको भन्दै कार्यक्रम भइरहेकै बेला एमाओवादीका युवा नेता विशाल खड्काले मञ्चमै गएर तत्काल कार्यक्रम रोक्न आग्रह गरेका थिए । उनले मञ्चमै गएर दलहरूलाई उपेक्षा गरी रकम बाँडिए प्रतिकारमा उत्रिने चेतावनी दिएपछि कार्यक्रम नै अवरुद्ध भएको हो ।

कार्यक्रममा नयाँ शक्ति नेपालका दोलखा संयोजक रविन्द्र कार्कीले दलहरू र जनताको सहमतिविना प्राधिकरणले एकपक्षीय काम गरेको भन्दै आपत्ति जनाए । दलहरू र स्थानीयवासीले अवरोध गरेपछि प्राधिकरणका प्रमुख ज्ञवाली छलफलमा जुटेका छन् ।

उनले आफूहरूले जबरजस्ती काम गर्न नखोजेको बताउँदै पुनर्निर्माणको काम पनि अघि बढाउने र समस्याहरूको पनि समाधान गर्ने सोचका साथ अभियान सुरु गर्न लागेको बताएका थिए ।

प्राधिकरणले घर बनाउने रकमको पहिलो किस्ताका लागि गाविस सचिव र २० जना घरधनीबीच सम्झौता गर्ने तयारी गरेको थियो । तर, स्थानीयले सबै भूकम्पपीडितलाई परिचयपत्र नपाएसम्म रकम लिँदैनौँ भनेपछि कार्यक्रम नै रोकिएको हो ।

कार्यविधि तोकिएका केही व्यक्ति रकम लिन तयार भए पनि दल र अन्य स्थानीयले चर्को विरोध गरेपछि प्राधिकरणलाई पहिलो गाँसमै ढुंगो लागेको हो । भूकम्प जानुअघि एउटै घरमा बसेका पाँच परिवारले अहिले अलगअलग घर बनाउन खोजेका छन् । तर, प्राधिकरणले एउटै मात्र घर बनाउन रकम दिने जनाएपछि स्थानीय झनै आक्रोशित भएका हुन् ।

‘भूकम्पअघिको संयुक्त परिवार अहिले चारतिर छरिएर बसेको छ’, लामीडाँडा गाविस–५ का भवानी पाठकले भने, ‘परिचयपत्रका आधारमा रकम चाहिन्छ, कार्यविधि र लालपूर्जाका आधारमा रकम लिँदैनौँ ।’

प्रतिक्रिया