मुलुकको विकासमा गुटबन्दीको असर

दलभित्रकोे गुटबन्दीले कार्यकर्ता र शुभेच्छुक मात्र होइन, सर्वसाधारण जनतासमेत निराश छन् । नेपाली कांग्रेसको १३औँ महाधिवेशनका क्रममा उम्मेदवारी घोषणा गर्दा पनि गुटबन्दीले नै प्रश्रय पाएको देखियो । सभापति र महामन्त्रीको उम्मेदवारी समूहगतरूपमा घोषणा गरियो । प्रतिनिधिलेसमेत समूहगत सूचीअनुसार नै मतदान गरे । यसले पार्टीको केन्द्रीय समितिमा नेपाली कांग्रेसभन्दा यो वा त्यो समूहका प्रतिनिधि बढी चुनिनेछन् । यसैको परिणामस्वरूप देउवा गुटले अहिलेसम्म सार्वजनिक भएको परिणामअनुसारबहुमत ल्याउने देखिएको छ । गुटको प्रतिनिधित्व गर्दै चुनिएका पदाधिकारी र सदस्यबाट पार्टीको सञ्चालन हुने पार्टी नेतृत्वले त्यहीअनुसार परिचालित हुनेछ । कुनै पनि गुटले पाएको मतका आधारमा अन्य पदको पनि भागबन्डा गरिनेछ । अघिल्लो कार्य समितिले गरेको व्यवहारले यही दृश्य देखाएको छ । पूरै महाधिवेशन यसरी बाँडिएपछि पूरै प्रतिनिधि सिंगो पार्टीको हितमा भन्दा गुटस्वार्थकै लागि खटिए । यस्तो अपसंस्कृतिले प्रश्रय पाउँदै जाने हो भने राजनीतिक दलहरू बिस्तारै संगठित गिरोह बन्नेछन् । दलका नेता कार्यकर्ता जनताको सेवा गर्ने मूल उद्देश्य बिर्सेर पार्टी कब्जा गर्ने होडमा लाग्नेछन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले अस्वस्थ रूप लिनेछ । यस्तो क्रियाकलापले दलका कार्यकर्ता मात्र होइन, शुभेच्छुक र मतदातासमेत विभाजन हुनेछन् । जनताको हित र पार्टी सुदृढीकरणमा लगाउनुपर्ने समय आन्तरिक गुटबन्दीको व्यवस्थापन तथा प्रवद्र्धनमा खर्च हुनेछ । पार्टीभित्रका गुटहरू व्यक्तिगत स्वार्थ र सुविधाका आधारमा संस्थागत हुन्छन् । पार्टीभित्रकै गुटबन्दीको अभ्यासले विगतमा कांग्रेस, एमाले, एमाओवादीलगायत दल विभाजित भएको र त्यसबाट देशमा राजनीतिक अस्थिरता बढेको कटुअनुभव नेपाली समाजले भोगिसकेको छ ।

कांग्रेस देशको पुरानो, ठूलो र लोकतान्त्रिक साख भएको दल हो । त्यहीअनुरूप उसले असल राजनीतिक संस्कारको विकासमा पनि अगुवाइ गर्नुपथ्र्यो । यसपटक कांग्रेस महाधिवेशनमा समूहगतरूपमा उम्मेदवारीको सट्टा व्यक्तिगत वा पदीय सिहावले एकल उम्मेदवारी घोषणा भएको भए यसले नेपाली राजनीतिमा सकारात्मक सन्देश प्रवाह हुने थियो । यस्तो भएको भए अरू दलमा पनि गुटबन्दीको संस्कार कमजोर हुने थियो । राजनीतिमा व्याप्त गिरोहवाजीको अपसंस्कार अन्त्य गर्न अगुवाइ गर्ने अवसर कांग्रेसका नेताले यसपल्ट पनि गुमाए । समूहगतरूपमा उम्मेदवारी दिइसकिएकाले अब त्यसलाई सच्याउन त मिल्दैन तर पारस्परिक कटुता बढ्न नदिन उम्मेदवार एवं तिनका समर्थक सजग र संयमित भने हुन सक्छन् । चुनावपछि पनि पार्टीका सबै नेता मिलेरै काम गर्नुपर्ने हुन्छ । चुनावी प्रतिस्पर्धालाई सकेसम्म स्वस्थ र शिष्ट बनाउन सबैले ध्यान दिनुपर्छ ।

आफ्नो क्षमता, गुण र प्रतिबद्धता प्रस्तुत गरेर जनमत आफ्नो पक्षमा बनाउनुको साटो निर्वाचनमा प्रतिस्पर्धीको दुर्गुणको वर्णन, कमजोरीको बखान र विफलताको विवरण प्रस्तुत गरेर कटुता बढाउने प्रयास गर्ने कुसंस्कार पार्टीको आन्तरिक चुनावमा देखिनु दुर्भाग्यपूर्ण छ । चुनाव सकिएको भोलिपल्टैदेखि मिलेर काम गर्नुपर्नेबीच कटुता बढाइए कसैलाई फाइदा हुँदैन । यसैले चुनाव जित्नैका लागि चर्का नारा लगाउने, उत्ताउलोपन देखाउने, लोभलालचलगायत अनुचित उपाय अपनाउने र दोषारोपण गर्नेलाई कार्यकर्ताले दुत्कार्नुपर्छ । कार्यकर्ताहरू सजग र सचेत भए मात्र स्थायी गुटबन्दीको अन्त्य हुन्छ । यस्तो गुटबन्दीको अन्त्य नभएसम्म पार्टीजीवन र मुलुकलाई पनि अहित हुनेछ । कार्टेलिङले थिलोथिलो बनेको अर्थतन्त्रमा पार्टीभित्रको आन्तरिक गुटबन्दीले झनै गम्भीर रूपमा नकारात्मक असर पार्नेछ । किन भने राजनीतिक दलले नै मुलुकलाई सञ्चालन गरिरहेको हुन्छ । त्यसैले गुटबन्दी र कार्टेलिङको अन्त्य हुनैपर्छ ।

प्रतिक्रिया