कांग्रेस मतगणनामा सुस्तता : ‘डेडलाइन’ पूरा नहुने

Congress-flag_308312814 copyकाठमाडौं, २८ फागुन । कांग्रेस केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको पाँचौ दिन पनि ६ सय ५३ मात्र गनेर मतगणना कार्य स्थगित गरिएको छ । यस्तै हिसाबले प्रत्येक दिन २ सय मत मात्र गणना गर्ने हो भने सबै मत गणना गरेर परिणाम आउन अझै घटीमा १२ दिन लाग्नेछ । १३औँ महाधिवेशनमा ३ हजार १ सय ४८ मत खसेको छ । कांग्रेसले महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन आयोगमा ३ चैतसम्ममा बुझाइसक्नुपर्नेछ । यही रफ्तारमा मत गणना गर्ने हो भने उक्त समयसीमासम्म कांग्रेसले आयोगमा नामावली बुझाउन सक्दैन ।

संविधानअनुसार कांग्रेसले ३ चैतभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ । निर्वाचन समितिको सुस्तताका कारण महाधिवेशन सम्पन्न भएको ५ दिनसम्म पनि मात्र ६ सय ५३ मत गणना भएको छ । ‘कांग्रेसले ३ चैतभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ’, निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले भने ।

कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे ५ वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे ५ वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गर्नुपर्ने प्रावधान छ । कानुनअनुसार ३ चैतभित्र महाधिवेशन सम्पन्न गरी केन्द्रीय समितिको नमावलीसहितको सूची निर्वाचन आयोगमा पेस नगरे कांग्रेस अवैधानिक हुनेछ । यही गतिमा मतगणना हुने हो भने कांग्रेसले ३ चैतभित्र आयोगमा सूची पेस गर्न नसक्ने देखिएको छ ।

कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा गठन गरेको निर्वाचन आयोगले काम सुस्त गरेको भन्दै पार्टीभित्र र बाहिर पनि चर्को आलोचना हुन थालेको छ । निर्वाचन आयोगमा नामावली पठाउने समय ५ दिन मात्रै बाँकी रहेकाले पनि त्यसमा देखिने संवैधानिक र कानुनी जटिलता बारेमा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पनि परामर्श थालेका छन् ।

स्रोतका अनुसार देउवाले निर्वाचन आयोगमा केन्द्रीय कार्यसमितिको पूरै नामावली पेस गर्नुपर्ने वा महाधिवेशन भएको जानकारीसहित पदाधिकारीको नामावली पेस गर्दा हुने भन्ने विषयमा परामर्श गर्न केही अधिवक्तालाई खटाएका छन् ।

शुक्रबारसम्मको परिणाम अनुसार खुलातर्फको केन्द्रीय सदस्यका लागि अहिलेसम्म गणना भएको ६ सय ५३ मत गन्दा शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म ३ सय ८४ मत पाएका छन् । त्यस्तै खुमबहादुर खड्काले ३ सय ८१, प्रकाशमान सिंहले ३ सय ७७, प्रदीप पौडेलले ३ सय ७५, विमलेन्द्र निधीले ३ सय ६९, पूर्णबहादुर खड्काले ३ सय ६० र प्रदीप गिरीले ३ सय ५१ मत पाएका छन् ।

आदिवासी जनजाति(पुरुष) केन्द्रीय सदस्यको ७ सय मत गणना भएको छ । अहिलेसम्म बहादुरसिंह लामा, चिनकाजी श्रेष्ठले र माधव गुरूङले अग्रस्थानमा छन् । आदिवासी जनजाति(पुरुष) कोटामा ३ जना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै आदिवासी जनजाति(महिला) कोटाको मतगणनामा सीता गुरूङ र रत्ना शेरचनले अग्रता लिएका छन् । आदिवासी जनजाति(महिला) कोटामा २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यसअघि मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा फरमुल्लाह मन्सुर विजयी भएका थिए भने सभापति, महामन्त्री र कोषाध्यक्षमा क्रमशः शेरबहादुर देउवा, डा. शशांक कोइराला एवं कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसकेका छन् ।

प्रतिक्रिया