खोजखबर

हेलीप्याड प्रयोगमा आएन

सौर्य अनलाइन २०७२ फागुन २७ गते १६:५९ मा प्रकाशित

गोरखा, २६ फागुन । तत्कालीन राजपरिवारलाई गोरखा दरबारस्थित कालिका मन्दिर दर्शन गर्न दरबार छेउमा बनाइएको २ वटा हेलिप्याड राजतन्त्र हटेको ९ वर्ष बितिसक्दा पनि प्रयोगमा आएका छैनन् । राजाको कुलदेवता कालिका मन्दिर दर्शनका लागि बर्सेनी २ पटक हेलिकप्टर चढेर सोही हेलिप्याडमा राजासहित परिवारका सदस्य अवतरण गर्दथे ।

बडादसैँको पञ्चमी र चैतेदसैँको अष्टमीका दिन राजा गोरखा दरबार आउँदा मात्रै यी हेलिप्याड प्रयोग गरिन्थ्यो । माथिल्लो हेलिप्याडमा राजालाई अवतरण गरिन्थ्यो भने तल्लो हेलिप्याडमा नेपाली सेनाको हेलिकप्टर अवतरण हुँदै आएको थियो । प्रयोगविहीन रहेका २ वटा मध्ये तल्लो हेलिप्याड नागरिकका लागि खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

‘हेलिकप्टर चढेर गोरखा दरबार, कालिका मन्दिर र गोरखनाथ गुफा दर्शन गर्न आएका भक्तजनले हेलिप्याड प्रयोग गर्न पाएनन्,’ स्थानीयवासी सबिन खड्काले भने, ‘दरबारमा अवतरण गर्न नपाएपछि रंगशालामा हेलिकप्टर अवतरण गरिरहनु परेको छ ।’ दर्शनार्थी बोकेको मनाङ र फिस्टेल एअरका हेलिकप्टर दरबारमा ल्यान्ड गर्न नपाएर हालै रंगशालामा ल्यान्ड गरेको थियो ।

गोरखाको स्थानीय प्रशासन र दरबार हेरचाह अड्डाले ती हेलिप्याडमा हेलिकप्टर ल्यान्ड गर्ने अनुमति नदिएका हुन् । ‘रंगशालामा पनि अब हेलिकप्टर ल्यान्ड गर्न खेलकुद विकास समितिले रोक्ने गरेको छ’, खड्काले भने । नेपाली सेनाले प्रयोग गर्दै आएको ठिंगुरेस्वाँराको हेलिप्याड साँघुरो छ । त्यहाँ ओर्लेर दरबार आउन पायक पर्दैन ।

गत वैशाखमा गएको भूकम्पपछि दरबारको हेलिप्याड प्रयोगमा आएको छैन । उद्धार र राहतमा खटिएका हेलिकप्टर त्यसबेला ठिंगुरेस्वाँरा र सदरमुकाम वरपरका खेतमा ल्यान्ड भएका थिए । भूकम्पको त्रासले घरमा बस्न छाडेर सदरमुकामवासी रंगशालामा त्रिपाल टाँगेर बसेका थिए ।

‘भूकम्पले दरबार हल्लाएको छ । झन् कच्ची बनाएको छ,’ उनले भने, ‘माथिल्लो हेलिप्याड प्रयोगमा ल्याउनु हुन्न । तल्लो हेलिप्याड प्रयोगमा ल्याउँदा केही असर पर्दैन ।’ दरबार हेरचाह अड्डाले निश्चित रकम लिएर हेलिकप्टर ल्यान्ड गर्न दिनुपर्ने खड्काको भनाइ छ ।

गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले मोटरबाटो खुलेकाले हेलिप्याडको प्रयोग नभएको हुनसक्ने अनुमान गरे । ‘इतिहासलाई तोडमोड गर्ने र भत्काउने गर्नु हुँदैन’, उनले भनेका छन् । राजाका पालामा बनेका संरचना द्वन्द्वकालमा भत्काइएकामा उनले आपत्ति जनाए । ती हेलिप्याड ०४०÷०४१ मा निर्माण भएका हुन् ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले माथिल्लो हेलिप्याड सञ्चालनमा ल्याउन नसकिने बताए । ‘रूख काटेर तल्लो हेलिप्याड सञ्चालनमा ल्याउन सकिन्छ । हेलिकप्टर ल्यान्ड गर्न पुरातत्व विभाग र प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिन्छ’, उनले भने । भूकम्पका कारण माथिल्लो हेलिप्याडको एक छेउ चिरा परेको र हेलिकोप्टर बस्दा हावाले दरबारको छाना उडाउने उनको भनाइ छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय