प्रभावकारी देखियो विद्युतीय शवदाह

sabdahaकाठमाडौं, २० फागुन । पशुपति क्षेत्रस्थित विद्युतीय शव दाह मेसिन प्रभावकारी देखिएको छ । शवको अन्तिम संंस्कार गर्न छिटो र सस्तो पनि भएकाले अहिले सञ्चालनमा रहेको एउटा मेसिनलाई भ्याइनभ्याई भएको छ ।

गत १० माघदेखि सञ्चालनमा आएको विद्युतीय शवदाह मेसिनमा अहिले दैनिक २२ वटासम्म शव जलाउने गरिएको छ । सुरुमा २ वटै मेसिन सञ्चालनमा ल्याइए पनि प्राविधिक कारणले हाल एउटा मात्र सञ्चालनमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मेसिन सञ्चालनको पहिलो दिन नै १८ वटा शव आएको पशुपति विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले बताए । त्यसपछि क्रमशः शव आउने क्रम बढ्दै गएको टण्डन बताउँछन् । अहिले एउटा मात्र मेसिन प्रयोगमा रहेको भए पनि चाँडै अर्को पनि सञ्चालनमा ल्याउने र निकट भविष्यमै अर्को मेसिन थपेर मेसिनको संख्या ३ पु¥याउने कोषले बताएको छ ।

३३ वर्षअघिदेखि नै निर्माणको चर्चामा रहेको सो गृह ०७० सालमै निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माण सम्पन्न भइसकेर पनि विभिन्न अवरोधका कारण सो मेसिन सञ्चालनमा आउन निकै समय कुर्नुपरेको थियो । विद्युतीय शवदाह सञ्चालनमा आउँदा केही ब्राम्हणहरू बेरोजगार हुने भएकाले उनीहरूकै अवरोधका कारण सो मेसिन सञ्चालनमा आउन नसकेको बताइएको थियो । परम्परागत ढंगले लास जलाउँदा निश्चित शुल्क तिरेपछि पशुपति विकास कोषले नै लास जलाउने ब्राम्हण उपलब्ध गराउने गरेको छ । मेसिनको प्रयोगले उनीहरूको काम खोसिदिने भएकाले उनीहरूले केही समय अवरोध गरेका थिए ।

हिन्दू कर्मकाण्डमा उल्लिखित अन्त्येष्टीका विधिहरू मेसिनको प्रयोग गर्दा नमिल्ने भएकाले आधाभन्दा बढी अझै परम्परागतरूपमै लास जलाउने गरिरहेका छन् । हिन्दू धार्मिक विधिअनुसार लासलाई दाउराले बनाएको चितामा चढाइन्छ, स्वजनले लासको परिक्रमा गरी दागबत्ती दिन्छन् र लास खरानी नहुञ्जेल जलाउने जिम्मा आफन्तबाट गरिन्छ । यदि आफन्तले नजलाएको खण्डमा उनीहरूको अनुरोधमा कोषबाट आएका ब्राम्हणलाई दिने चलन छ । लास जलिसकेपछि फेरि कर्मकाण्ड विधि सुरु हुन्छ चिता पखाल्ने, चितामा पिण्ड दिने आदी । मेसिनको प्रयोगमा यो सबै गर्न नमिल्ने भएकाले धार्मिक वृद्धवृद्धा अगति परिने त्रासमा परेको बताइन्छ । तर, सबै विधिपूर्वक गरिने कर्मकाण्ड यसमा पनि गर्न मिल्ने सचिव टण्डनले बताउँछन् । उनी भन्छन्, ‘आ–आफ्नो धार्मिक परम्परा अनुसार सबै कर्म सकेर अन्त्यमा विद्युतीय मेसिनमा लासलाई राखिने हो । यसमा लास जलाउँदा अन्त्यमा निस्कने खरानीलाई अस्तुका रूपमा लैजाने पनि गरेका छन् ।’

लास जलाउँदा गरिने मेसिनको प्रयोगले अन्त्यष्टीमा कुनै फरक नपर्ने पंं आत्माराम खतिवडा बताउँछन् । यसमा पनि सबै कर्मकाण्ड पूरा गर्न सकिने भएकाले कसैले डराउनु नपर्ने उनको कथन छ । बागमती नदी आपैmँ गंगा भएकिले अस्तु निकालेर गंगा पु¥याउनु पर्दैन । लास जलेर भएको खरानी बागमतीमा विसर्जित हुने भएकाले असामयिक निधन भएका वा मरेकाले पनि मुक्ति पाउने उनको विश्वास छ ।

करिब ४० लाख जनता रहेको काठमाडौंमा २÷३ ठाउँमा यस्ता मेसिनको प्रयोग गर्न सकेमा धेरै सहज हुने टण्डन बताउँछन् । अहिले नै आर्यघाटमा दाउराको प्रयोग गरेर लास जलाउनेको संख्या आधा घटेको र अर्काे मेसिन थपेर तीनवटै सञ्चालनमा ल्याउन सकेमा दाउराको प्रयोग पूरै हटने कोषका सचिव टण्डनको विश्वास छ ।

एउटा लास जलाउन ४५ मिनेट लाग्ने तर आइसमा राखेको वा धेरै समय बिरामी भएको लास भए करिब १ घन्टा लाग्ने गरेको टण्डनको अनुभव छ । पशुपति क्षेत्रमा ३ वटासम्म शवदाह मेसिन राख्न सकेमा दिनमा ४०÷५० वटा लास जलाउन सकिने कोषको भनाइ छ । पशुपति क्षेत्र विकास कोषले शवदाह मेसिनमा एउटा शव जलाएवापत ३ हजार शुल्क तोकेको छ र २ सय अन्य शुल्क गरी जम्मा ३ हजार २ सयमा अन्तिम संस्कार प्रक्रिया पूरा गर्न सकिन्छ । तर, पराम्परागत रूपमा लास जलाउँदा ८ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ ।

पशुपतिमा लास जलाउन दैनिक ५ देखि ६ हजार टन दाउरा खपत हुने गरेकोमा यो मेसिन प्रयोगमा आएदेखि दाउराको खपत पनि घटेको बताइएको छ । अहिले दैनिक २ देखि ३ हजार टन दाउरा मात्र खपत भइरहेको छ । वातवरणीय हिसाबले पनि विद्युतीय मेसिनको प्रयोग उत्तम मानिन्छ । नजलेका वा आधा जलेका दाउरा वाग्मतीमै फलिने भएकाले यसले नदीको बहावमा पनि असर गरेको थियो भने फोहरसमेत बनाएको थियो ।

शवदाह मेसिनमा लाडसेडिङ नहुने हो भने धेरै राम्रो विकल्प भएको बताउँदै सचिव टण्डन भन्छन्, ‘यसलाई देशभर विस्तार गर्न सकिन्छ ।’ सरकारले समेत देशका प्रमुख सहरहरूमा यस्ता विद्युतीय शवदाह मेसिन जडान गर्ने योजना बनाइरहेको टण्डन बताउँछन् ।

(प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया