निर्धारित समयमै पुनर्निर्माण – गृहमन्त्री बस्नेत

shakti basnet copyकाठमाडौं, १९ फागुन । भूकम्पपछिको पुनर्निर्माणको काम निर्धारित समयमै पूरा गर्न सबैलाई सहयोग गर्नु पर्ने गृहमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गरेका छन् । ‘लैंगिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक २ दिने सम्मेलनको समापन गर्दै उनले सो कुरा बताएका हुन् ।

महिला, कानुन र विकास मञ्च, वियोङ बेइजिङ कमिटी, जागरण नेपाल, एड्भोकेसी मिडिया ग्रुपलगायतका संस्थाले आयोजना गरेको सो कार्यक्रममा पुनर्निर्माणको काम निर्धारित मितिमै सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको र सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका हुन् । उनले कार्यक्रममा भने, ‘भूकम्पपश्चात् प्रारम्भिक चरणको काम पूरा भएको छ, अब पुनर्निर्माणको काम तोकिएको समयमै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्छु ।’

उनले भूकम्पपीडितमा पनि सबैभन्दा बढी प्रभावितलाई सरकारले पहिलो प्राथमिकता दिएको र राहत, ऐन, नियम, प्राधिकरण गठनलगायतले गर्दा पुनर्निर्माणको काममा ढिलाइ भएको उल्लेख बताएका छन् ।

पुनर्निर्माणसँग जनजीविका विषयमा पनि सोच्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. विष्णु भण्डारीले भने ‘पुनर्निर्माणलाई लैंगिकमैत्री बनाउनु पर्छ ।’ राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागार्इं, अधिकारकर्मी शर्मिला कार्कीलगायतले पुनर्निर्माणमा महिला र पुरुषको समान सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

१५ बँुदे घोषणापत्र जारी

‘लैंगिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक २ दिने राष्ट्रिय सम्मेलन १५ बँुदे घोषणापत्र जारी गर्दै सकिएको छ । घोषणापत्रमा गत १२ वैशाखमा गएको भूकम्प र परकम्पबाट भएको क्षतिको पुनर्निर्माण कार्य अविलम्ब सुरु गर्नुपर्ने, पुनर्निर्माण कार्य लैंगिकमैत्री बनाउनुपर्ने, पाठ्यपुस्तकमा लैंगिक असमानतालाई हटाउने खालको विषयवस्तु राखिनुपर्नेलगायत उल्लेख छ ।

२ दिने सम्मेलनमा भूकम्प प्रभावित १४ जिल्लाबाट २÷२ जना गरी २४ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया