३ दलको सहकार्य टुट्नु दुर्भाग्य : मन्त्री गजुरेल

रामेछाप, १७ फागुन । कृषि विकास मन्त्री हरिबोल गजुरेलले संविधान निर्माणपछि नेपालका ठूला ३ दलहरूबीचको सहकार्य टुट्नु दुर्भाग्य भएको बताएका छन्् । मन्त्री गजुरेलले संविधान बनाउने बेलामा एकै ठाउँमा रहेका कांग्रेस, एमाले र एमाओवादीको सहकार्य नभएसम्म संविधान कार्यान्वयन जटिल हुने पनि बताएका छन् ।

जिल्ला विकास समिति रामेछापको सोमबार मन्थलीमा सम्पन्न २१औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा बोल्दै एमाओवादी नेतासमेत रहेका गजुरेलले नेपालको राजनीतिमा राजनीतिक दलहरूले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै ब्रेक गर्न बाँकी रहेको बताए । वर्तमान संविधानले महिलाको अधिकार, खाद्यसम्प्रभुता, स्वास्थ्य, शिक्षालगायतका अधारभूत अधिकारको ग्यारेन्टी गरेको पनि उनले बताए ।

कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य धावा लामा, जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरूले पनि जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले रामेछाप जिविसको आव ०७३÷७४ को कुल ३ अर्ब ६१ लाख ३७ हजार ७८ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा चालु तर्फ १ अर्ब ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

जिल्ला विकास समितिले आगामी वर्षका योजनामा भौतिक पूर्वाधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुंगेपुल निर्माण तथा मर्मत, बैकलल्पिक ऊर्जा, सहरी पूर्वाधार विकासलगायतका कार्यक्रमहरू प्राथिमिकतामा छन् ।

त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्थालगायतको पुनर्निर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।

प्रतिक्रिया