योगसूत्रमा सुशीलदा

sangita_dahal copyजहाँ जीवन छ, त्यहाँ मृत्यु छ । जन्म, मृत्यु, विवाहको कुरा कसैलाई पनि थाहा हुँदैन भन्ने हिन्दूहरूको धार्मिक वा सामाजिक धारणा प्रचलनमा छ पनि । धर्म, अर्थ, काम, मोक्ष हिन्दूहरूको जीवनको लक्ष्य मानिन्छ । मानसिक तथा शारीरिक स्वास्थ्यको लागि योगको कुरा पनि हिन्दू दर्शनमै पाइन्छ । भक्तियोग, ज्ञानयोग, कर्मयोग आदिको कुरा गीताले गर्दछ । पतञ्जली योगसूत्रले योगका अष्टांग अंगको चर्चा गर्दछ । जसअन्तर्गत यम, नियम, आसन, प्रणायम, प्रत्याहार, धारणा, ध्यान, समाधि पर्दछन् । बुद्धले पनि दुःख निवारण गरी सहज जीवनका लागि अष्टांगको मार्गको कुरा गरेका छन् । उनले सुझाएका मार्गमा सम्यक दृष्टि, संयक संकल्प, संयक वाचन, संयक कर्म, संयक जिविका, संयक व्यायाम, संयकसंयन्त र सम्यक समाधि पर्दछन् । पतञ्जली योगसूत्र र बुद्ध शिक्षाको तादम्यता मानिसको सरल र सहज जीवनमा छ । संयमित तथा अनुशासित जीवनमा दुवैको जोड छ ।

पतञ्जली योगसूत्रको अष्टांग, अंगमा पर्ने यम (बाध्य अनुशासन), अन्तर्गत अहिंसा, सत्य, अस्तेय (अर्काको बस्तु नलिनु वा चोरी नगर्नु) आदि पर्दछन् । नियम (आन्तरिक अनुशासन)मा शौच, तप, सन्तोष, स्वअध्याय आदि कुराहरू पर्दछन् । युवा–वृद्ध सबैमा अहिले योगप्रति आकर्षण बढ्दो छ । राष्ट्रिय व्यक्तित्व जसकसैको जीवन चर्चाबाट आएको प्रायःजसो अन्तर्वार्तामा योगबाट दिनको सुरु गर्ने कुरा गरेको पाइन्छ । त्यति मात्र होइन, २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा सन् २०१५ देखि मनाउन थालियो भने, नेपाल सरकारले पनि १ माघलाई योग दिवसको रूपमा ०७२ सालदेखि मनाउन प्रारम्भ गरिसकेको छ । योग गर्नु र योगी हुनु भिन्न कुरा हो । योग गर्नेले पतञ्जलीमा भनेझैँ योगको अष्टांग, अंगको परिपालन गरेको हुन्छ भन्ने हुँदैन । त्यस्तो मानिस योगाभ्यासी होला तर योगी हुन सक्दैन । बन्दैन पनि । योगबाट लाभान्वित पनि नहुन सक्छन् ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपश्चात उनको सादगी जीवनको धेरै चर्चा भयो । टिप्पणी र स्मरण गरियो । प्रशंसा त्यसको निक्कै भयो । कोइराला योग गर्थे वा गर्दैन थिए, यो पंक्तिकारलाई थाहा छैन । तर, योगाभ्यासी पालना गर्नुपर्ने अपरिग्रह र अस्तेयको अनुशरण भने जीवनपर्यन्त गरे । त्यो उनको जीवनशैली नै बन्यो । एउटा राजनीतिज्ञले अपरिग्रह र अस्तेयको पालना गर्छ भने राष्ट्रिय धनप्रति उसको मोह, आशक्ति रहँदैन पनि । त्यसैले अन्य कुरामा विवादमुक्त नभए पनि आर्थिक मामलामा उनको चियो र चर्चा भएन । छवि सधैँ स्वच्छ नै रह्यो । प्राचीन राजनीतिक चिन्तक (इपु४४७–३२७) प्लेटोले परिवार र सम्पत्तिविहीन दार्शनिक शासक एउटा आदर्श राज्यको आधारभूत आवश्यकता हो भनेका छन् । दार्शनिक नभए पनि परिवार र सम्पत्तिविहीन थिए कोइराला । त्यस्तो खाले राजनीतिक व्यक्तित्वको उपस्थिति अब देखिएको पनि छैन । सम्भवतः अनिकाल नै पर्नेछ ।

कृष्णप्रसाद भट्टराईले सन्तको आफ्नो छवि जीवनपर्यन्त कायम राखे । मनमोहन अधिकारी, मरिचमान सिंहले अपरिग्रहको पालना गरे । अधिकारीको जीवनशैली एमालेको सञ्चित पुँजी भएको छ भने आफ्नो अपरिग्रह स्वभावको कारण प्रधानमन्त्री भइसकेको व्यक्ति सिंहले कुखुरापालन गरेर आफ्नो जीवन निर्वाह गरे । अधिकारी र सिंहको परिवारले विरासतको राजनीति पनि गरेनन् । सिंहको योपक्ष सबैलाई ग्राह्य रुचिकर नहुन सक्छ । तर, सत्य त्यही हो । सत्य अप्रिय र कटु नै हुन्छ । योगाभ्यासीले पालना गर्नुपर्ने अर्को सत्य व्रत पनि हो । त्यसको पालना सबै योगाभ्यासीबाट भएको छ वा छैन ? थाहा छैन । विपी र सुशील क्रमशः दिदी दिव्या र बहिनी कुमुदिनी कोइरालाका छोरा हुन् । कृष्णप्रसाद कोइराला र उनको परिवार भारतको विहारको सहसा जिल्ला (भागपुर) को टेडी दीपनगरमा निर्वासनमा रहेको अवस्थामा कुमुदिनी पनि साथमै थिइन् । कृष्णप्रसाद कोइराला यहाँ जोगीहरूको आवत–जावत र सरसंगत हुने गरेको कुरा विपीको आफ्नो कथा र आत्मवृतान्तमा पनि पाइन्छ ।

कृष्णप्रसाद कोइराला र उनको परिवासँग निकट रहेको र सबैले बाबुसाहेव भनिने (वासुदेववीर वर्मा) बाट विपी अत्यधिक प्रभावित भएको कुरा लेखेका छन् । वर्मा भवानी सिंहका छोरा र कमान्डर इनचिफ जीतजंग राणाकी छोरीपट्टिको नाती भएको कुरा मातृका बाबुको आलेखमा पाइन्छ । जंगबहाुर राणासँग रक्तसम्बन्ध जोडिएका उनी लोकपुज्य महात्मा महर्षी हुनुभए भन्ने मातृकाको धारणा छ (मातृका बाबु, चिन्तन र स्मृति, सम्पादक जीवनचन्द्र कोइराला, प्रकाशक कूलचन्द्र कोइराला स्मृति प्रतिष्ठान) तिनै सत्पुरुषबाट अत्यधिक प्रभावित विपीले उनको बारेमा थुप्रै शब्द खर्चेका छन् । विपीले उनको बारेमा लेखेका छन्, ‘बाबुसाहेव त्यस्तै महात्मा हुनुहुन्छ । जसको स्वभावमा देवप्रसादका लक्षण चिन्हित छन् । वहाँलाई स्वार्थमाथि विजय पाउन ठूलो तपस्या र कठोर योगको अभ्यास गर्नुपरेको मैले देखिनँ’ त्यस्तै आजकल वहाँ विन्ध्याञ्चल पर्वतको एउटा गुफामा सर्वबन्ध्या महात्मा भएर निवास गर्नु हुन्छ रे’ (विपी सुन्दरीजलमा रहँदा मेरो कथा लेख्दाको कालखण्डमा)

त्यस्तै स्वामी रामतीर्थको पनि विपीमा अत्यधिक प्रभाव परेको थियो । स्वामी रामतीर्थमाथि पूर्ण सिंहले लेखेको एउटा मोटो अंग्रेजी किताबको आफूमा प्रभाव मात्र नपरेर रामतीर्थको अनुकरण नै गर्न पुगेको कुरा पनि विपीले आफ्नो कथामा लेखेका छन् । विपी बनारस रहँदा त्यसबेला काशीका प्रसिद्ध सन्त अवदुत बाबा भगवान् रामको आश्रममा विपी नियमित रूपमा जान्थे भनिन्छ । भगवान् राम शैलजा आचार्यको दीक्षा गुरु नै थिए । विपीसँग पुस्तान्तर भएका गिरिजाको आज्ञापालक भएर रहेका सुशीलले त्यस्ता जोगीहरूको सानिध्यता पाए वा पाएनन ? उनीहरूप्रति उनको आस्था र झुकाव थियो वा थिएन ? तर, उनको जीवनशैली योगीले परिपालना गर्नुपर्ने भनिएको अपरिग्रह र अस्तेयको पालना जानेर वा नजानेर गरिराखे । त्यसैले उनको जीवनको अध्यायको कोणलाई राजनीतिक सूत्रबाट होइन, पतञ्जलीको योगसूत्रबाट हेर्ने हो भने अपरिग्रही सुशीलदालाई अन्तिम सलाम भन्न अन्यथा होलाजस्तो लाग्दैन ।

प्रतिक्रिया