पूर्व मिस जेनिसाले बाँधिन जोडी

3 copyकाठमाडौं, १४ फागुन । पूर्व मिस नेपाल जेनिसा मोक्तानले युवा व्यवसायी दिकेश मल्होत्रासँग बिहे गरेकी छन् । सन् २००९ मा मिस नेपाल भएकी जेनिसालाई लिन युवा व्यवसायी दिकेश शुक्रबार जन्ती लिएर गएका हुन् । उनीहरूको बिहे आइतबारदेखि नै सुरु हुने भए पनि शनिबार बिहे भोज हुने भएकाले शुक्रबार नै जन्ती लिएर गएका हुन् ।

शनिबारसम्म चल्ने बिहेको शुक्रबार विशेष दिन हुने उनीहरूले जनाएका छन् । जेनिसा आफूहरूको सपना पूरा भएकोमा खुसी छिन् । सन् २०१० मा दिकेश र जेनिसाको भेट भएको थियो । प्रेम भएको करिब साढे ५ वर्षपछि यी दुईले एक अर्कालाई जीवनसाथी रोजेका हुन् ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफूहरूको क्लबमा आएको भन्दै तस्बिर सेयर गर्दै दिकेश र जेनिशालाई शुभकामना दिएकी छिन् । नायिका प्रियंका कार्की दिकेशकी फुपूकी छोरी हुन् । उनै प्रियंकाको निकटको साथी भएकाले पनि दिकेश र जेनिसाको चिनजान र निकटता अझ बढेको हो । एक अर्कालाई हृदयदेखि नै मन पराएका कारण विवाह बन्धनमा बाँधिएको बुझाइ यो जोडीको छ ।

दिकेशले आफूले जेनिसालाई मिस नेपाल भएकाले मन नपराएको दाबी गरेका छन् । भोली शनिबार आफन्त, साथीभाई र विभिन्न विशिष्ट व्यक्तिहरूलाई पार्टीका लागि यो जोडीले निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया