स्वर्ण पदक खेलाडी सम्मानित

2 copyकाठमाडौं, १२ फागुन । १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपू ल्हामु खत्रीलाई युनिभर्सल युनाइटेड तेक्वान्दो महासंघले बुधबार सम्मान गरेको छ । उनीहरूलाई बुधबार सातदोबाटोस्थित मैत्री तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले ५० हजार बराबरको चेक तथा प्रशंसापत्र प्रदान गरे ।

सोही अवसरमा अल्ट्रा धावक मीरा राईलाई पनि प्रशंसापत्रसहित ७५ हजारको चेक प्रदान गरिएको थियो । उनी विश्व अल्ट्रा च्यम्पियनसिपमा दोस्रो स्थान हात पार्न सफल भएकी थिइन् । लामोसमय माओवादीमा लागेकी उनी २ वर्षअघि मात्र खेलकुदमा लागेको उनले बताइन् । फुपू सन् २००८ देखि जुडोमा सक्रिय थिइन् । उनी सन् २००८ की एसियाली जुनियर जुडोकी कांस्य पदक विजेता हुन् ।

आगामी रियो ओलम्पिकलाई लक्ष्य बनाएकी उनी बुधबार नै प्रशिक्षणका लागि हंगेरीको बुढापेस्ट प्रस्थान गरेकी छिन् । भारतबाटै बुढापेस्ट जाने उनको कार्यक्रम रहे पनि एक दिनअघि नेपाल जुडो संघले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएकी थिइन् । यसैगरी उसुकी निमा हाल राजीव महर्जनको प्रशिक्षणमा रहेको नेपाल आर्मी क्लबमा आबद्ध छिन् । उनले थाउलोमा स्वर्ण पदक जितेकी हुन् । निमाका प्रशिक्षक राजीव पनि बुधबार कार्यक्रममा उपस्थित थिए ।

सो अवसरमा महासंघका अध्यक्ष राजकुमार राईले विदेशमा बसेर पनि खेलकुदको माध्यमले राष्ट्रको नाम उच्च राख्न योगदान गरेकोमा आपूmलाई धन्य भएको बताए । यसका साथै खेलाडीहरूको हौसला अभिवृद्धिगर्न सदा लागिपर्ने समेत उनले बताए ।

प्रतिक्रिया