एनसिएस झिनो अन्तरले विजयी

काठमाडौं, १२ फागुन । नेसनल क्रिकेट स्कुल, काठमाडौंले क्रिकेटको सहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस क्रिकेट सिरिजमा विजयी सुरुआत गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई एनसिएस ले ७ रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

१८२ रनको लक्ष्य पछ्याएको डिसिएले ४१ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । डिसिएका कप्तान सुवोध ऐर १ रनले अर्धशतक बनाउनबाट चुके । ओपनर राजन ठकुरीले ३ चौका र १ छक्काको मद्दतले २१ रनको पारी खेल्दै पारी उकास्ने प्रयास गरेका थिए । त्यस्तै यम कार्कीले २८, अमन पन्थीले २०, अमित बुढाले १२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनील थापाको ४९ रनको मद्दतले ४० दशमलव४ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । जितका लागि कप्तान जितेन्द्र ठकुरीले ३४ तथा उपकप्तान रित गौतमले २२ रनको योगदान दिए । डिसिएका अमित बुढाले ६ ओभरको स्पेलमा ३६ रन दिएर ४ विकेट लिए पनि उनले दिएको अतिरिक्त ११ रन डिसिएका लागि भारी प¥यो ।

प्रतिक्रिया