रियालको उपाधि यात्रा कठिन

real copyम्याड्रिड, १० फागुन । मालगासँग १–१ गोलको बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट रियाल म्याड्रिडको लालिगा फुटबलको उपाधि जित्ने अभियान कठिन बनेको छ ।

तेस्रो स्थानमा रहेको म्याड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा ९ अंकले पछि छ । भने दोस्रो स्थानको छिमेकी प्रतिद्वन्द्वी एथलेटीको मड्रिडभन्दा १ अंकले पछि छ । यी २ (रियाल–एथलेटीको)बीच अर्काे साता रियालको घरेलु मैदानमा खेल हुँदै छ ।

मालगाको घरेलु मैदानमा भएको खेलमा रियालले अग्रता लिएर पनि जोगाउन सकेन । ३३औँ मिनेटमा हेडमार्फत गोल गर्दै क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडलाई सुरुआती अग्रता दिलाएका थिए । टोनी क्रुसको फ्रि–किकलाई हेडमार्फत गोलमा परिणत गरेका रोनाल्डोले त्यसलगत्तै ३६औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको पाहुना टोली म्याड्रिडले दोस्रो हाफमा खेल फितलो बनेको थियो । जसको फाइदा उठाउँदै ६६औँ मिनेटमा मालागाका राउल एल्बेन्टोजाले बराबरी गोल फर्काए । डि–बक्सभित्रबाटै विलिङटनको क्रसमा अनमार्क रहेका राउल एल्बेन्टोजाले वान टच प्रहारमै गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल १–१ गोलको बरारीमा सकियो । मालगासँगको बराबरीपछि रियल मड्रिडको २५ खेलबाट ५४ अंक भएको छ ।

आइतबार राती नै भएको खेलमा भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको एथलेटीको मड्रिड समान २५ खेलबाट ५५ अंकसहित दोस्रो स्थानमा छ । आइतबार राती भएका अरू खेलमा भ्यालेन्सियाले ग्रनाडालाई २–१ तथा रियल सोसिडाडले एथलेटीको बिल्बाओलाई १–० ले हरायो । रायो भालेकानो र सेभिल्लाले २–२ गोलको बराबरी खेले ।

प्रतिक्रिया